गान्तोकः एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङको उपस्थितिमा एसकेएमलगायत अन्य विभिन्न पार्टीहरूलाई परित्याग गरी सिक्किमका विभिन्न क्षेत्रहरूबाट २०० भन्दा बढ़्ता युवाहरू एसडीएफ पार्टीमा सामेल भएको दाबी गरिएको छ। एसडीएफ पार्टी अध्यक्ष चामलिङले उनीहरूलाई एसडीएफको झण्डा, दिग्दर्शन र विभिन्न पार्टीसाहित्यहरू प्रदान गर्दै खदा लगाएर पार्टीमा स्वागत जनाएको एसडीएफले प्रेस विज्ञप्तिमा बताएको छ।
पार्टी अध्यक्ष पवन चामलिङले कार्यक्रममा आफ्नो छोटो सम्बोधन राख्दै भने, एसडीएफ पार्टीले २५ वर्ष लगाएर बड़ो मिहिनेतका साथ निर्माण गरेको शान्त, समृद्ध र सुखी सिक्किमलाई वर्तमान एसकेएमको यो चार वर्षको दिशाहीन र अराजक सरकारले लथालिङ्ग र भताभुङ्ग बनाइसकेको छ। सिक्किम र सिक्किमेली जनताको अधिकार, पहिचान र अस्तित्व धरापमा पारेको छ। सिक्किम र सिक्किमेली जनताको सम्पत्ति, जग्गा-जमीन, बिजुली उद्योग, वन सम्पदा, धरोहर सबै बाहिरका पूँजीपतिहरूलाई सुम्पिसकेको छ। सिक्किममा एकमुट्ठी मान्छेको लूटतन्त्र चलेको छ। उनले अझ भने, एसडीएफ पार्टी सामुहिक नेतृत्वमा चल्ने पार्टी हो। हाम्रो सिद्धान्त हाम्रो लागि प्राणभन्दा प्यारो छ। सामुहिक नेतृत्वसँगै सामुहिक जिम्मेवारी पनि हुन्छ। त्यसैले तपाईंहरूले सामुहिक नेतृत्वलाई सामुहिक जिम्मेवारीको रूपमा वहन गरेर जन जनमा सिक्किम बचाउने अभियानलाई पुऱ्याउने काम गर्नुपर्छ। सिक्किमको पहिचान, अधिकार, सुरक्षा र विकासको लागि हाम्रो सिक्किमलाई एक भएर बचाउने अभियानमा लाग्नुपर्छ।
चामलिङले अघि भने, अब २०२४ मा सरकार बन्नसाथ एक परिवार एक सरकारी नोकरी र एक व्यक्ति एक पेशा- लाई नियम बनाएर सरकारी योजनाको निर्माण गर्नेछौं। हाम्रो आगामी दिनमा एकैजना युवा पनि रोजगारविहीन भएर बाँच्नपर्ने अवस्थालाई पूर्ण रूपमा समाप्त पार्नेछौं। उनले आरोप लगाउॅंदै भने, एसकेएम सरकार ढाँट्न, लुट्न र ढुङ्गामूढ़ा गर्न लागिपरेको छ। सिक्किमको अधिकार र श्रीसम्पत्ति बेच्न लागिपरेको छ। सिक्किमलाई अधिकारविहीन बनाउने र गैर सिक्किमेलाई सशक्त र सम्पन्न बनाउने काममा लागिपरेको छ। त्यसैले सिक्किम बचाउनुपर्छ। तपाईंहरूले जन जनमा सत्य कुरा भन्नुपर्छ। एसकेएम पार्टी २०१९ मा जनतालाई ढाँटेर सरकार बनायो भने अहिले प्रलोभनको खोक्रो आश्वासन बाँड़ेर जनतालाई खेताला बनाई सरकार बनाउने दाउ गर्दैछ। त्यसैले हामीले एक भएर यस्तो ढाँट कुराको प्रलोभनमा नफँसी सही निर्णय गर्नुपर्छ।
-हिस










