गान्तोकः तादोङ बहाई स्कूलले गत १८ जूनदेखि पश्चिम पाण्डमस्थत क्लस्टर सुविधा भवनमा सप्ताहव्यापी किशोर युवा आध्यात्मिक सशक्तिकरण शिविरको आयोजना गरेको थियो। शिविरमा छैटौं श्रेणीका जम्मा ५३ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। त्यसबाहेक शिविरमा स्कूलका प्रधान अध्यापिका, शिक्षक अनि अन्य सहयोगी कर्मचारीहरू पनि सामेल थिए।
शिविर उद्घाटनको अवसरमा प्रधान अध्यापिका रुपादेवी शर्माले सप्ताव्यापी शिविरको उद्देश्यबारे प्रकाश पारेकी थिईन। किशोर युवा आध्यात्मिक सशक्तिकरण कार्यक्रमहरू ती ठाउँहरू हुन जहाँ किशोर युवाहरू (११-१४ वर्ष उमेरका) ले संसारको साथै आफ्नो स्वयंको सुधारमा योगदान दिनका निम्ति आफै भित्र क्षमताको अन्वेषण गर्न सिक्दछन्। कार्यक्रममा उनीहरूले अध्ययन गर्ने सामग्रीहरू किशोर युवाहरूको नैतिक र बौद्धिक सशक्तिकरणलाई बढावा दिने अभिप्रायले तयार गरिएको हुन्छ।
प्रत्येक सहभागी भित्र प्राकृतिक महानताको विका र संबर्धन गर्ने लक्ष्य राखेको सप्ताहव्यापी खेल, गीत, पाठको अध्ययन, सेवा परियोजना, कलात्मक गतिविधिले बाल-बालिकाहरूमा सकारात्मक असर भएको अनुभूति गर्न पाएको बताइएको छ। शहर, बजारमा हुर्केका विद्यार्थीहरूले गाउँ भ्रमणको अवसरमा कृषकहरूसँग भेटघाट गरे, बातचित गरे र धेरै कुराहरू सिके।
विविध, रचनात्मकता, र बाल-बालिकाको समग्र विकासमुखि शिविरको समापन ३० जूनको दिन भयो। समापन कार्यक्रमको दिन विद्यार्थीहरूले सप्ताहभरि सिकेका ज्ञानहरू अनि संकलित अनुभवहरू पालैसँग मन्चमा गएर साझा गरे। प्रिन्सिपल रुपादेवी शर्माद्वारा शिक्षक शिक्षीका क्रमैले डिजाइर शर्मा, प्रणय छेत्री, दिक्षा शर्मा, प्रज्ञा सेवा, शिराज, प्रधान अनि अन्य सहयोगी कर्मचारीहरूलाई प्रेमपूर्ण चिन्ह स्वरुप उपहार तथा धन्यवाद ज्ञापनको पश्चात सप्ताहव्यापी कार्यक्रमको समापन भएको थियो।










