२४ जूनः कुरा १७ अक्टोबर २००४-को हो। स्पेनिश ला लीगा फूटबलमा बार्सिलोना र एस्पानयोलबीच म्याच चलिरहेको थियो। म्याचको ८२औं मिनटमा दिग्गज खेलाड़ी डेको-को स्थानमा बार्सिलोनाले एकजना १७ वर्षीय युवा खेलाड़ीलाई मैदानमा पठायो। त्यस समय कसैलाई उदेग चाहिँ लागेन कारण त्यस खेलाड़ीले बार्सिलोनाको जूनियर टीमबाट खेल्दै सुनाम अर्जन गरिसकेका थिए। त्यही म्याचको साथमा फूटबल जगतलाई नयाँ सुपरस्टार हासिल भयो। त्यस खेलाड़ीले पछिबाट बार्सिलोना क्लब मात्र नभएर फूटबल इतिहासमै आफ्नो नाम सुनौलो अक्षरमा लेखे। उनलाई अहिले फूटबल खेलका सर्वकालिक महान खेलाड़ीहरूमा एक मानिन्छ अनि त्यस खेलाड़ीको नाम हो लियोनल आन्द्रेस मेस्सी। आज शनिवार (२४ जून) उनको जन्मदिन हो अनि फूटबलका यस दिग्गज खेलाड़ी ३६ वर्षका भएका छन्।
अर्जेण्टिनाका महान क्रान्तिकारी नेता चे ग्वेराको शहर रोजारियोमा जन्मिएका मेस्सीको फूटबलर बन्ने कहानी पनि रोचक रहेको छ। मेस्सी १३ सालको हुँदा बार्सिलोनाको नजरमा आएका थिए। बार्सिलोनाले प्रतिभाशाली खेलाड़ीहरू खोज्न ट्यालेण्ट हण्ट प्रोग्राम चलाइरहेको समय मेस्सीको पिताले खबर पाएर क्लबका कार्यकर्ताहरूसँग सम्पर्क गरेका थिए। बार्सिलोनाका तत्कालीन स्पोर्टिंग निदेशक कार्लेस रेक्सेकले मेस्सीको प्रतिभाबारे चर्चा सुनेका थिए। मेस्सी आफ्नो परिवारसँग स्पेन आएर बस्ने शर्तमा उनले युवा खेलाड़ीसँग अनुबन्ध गरेका थिए। मेस्सीसँग अनुबन्ध साइन गर्दा कार्लेस रेक्सेकसँग कुनै कागज थिएन। यसैकारण उनले हतारमा नेपकिन पेपरमै मेस्सीसँग अनुबन्ध गरेका थिए। बार्सिलोनासँग मेस्सीको अलग कहानी रहेको छ। उनले आफ्नो प्रिय क्लबबाट २००४-देखि २०२१-सम्म खेले। यस अवधि उनले क्लबबाट ७७८ वटा म्याच खेलेर ६७२ गोल पनि गरे। बार्सिलोनाको साथमा मेस्सीले च्याम्पियन्स लीग र ला लीगासहित जम्मा ३४ वटा प्रमुख ट्रफी जिते। साल २०२१-पनि मेस्सी क्लब छोड़्न चाहँदैनन् थिए तर आर्थिक संकटले गर्दा उनी वाध्य भएर बाहिर जानु परेको थियो।
क्लब स्तरमा थुप्रै ट्रफी जिते पनि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ मेस्सीले कुनै खिताब जित्न सकेका थिएनन्। अर्जेण्टिनाको निम्ति मेस्सीले २००४-मा पदार्पण गरेका थिए। साल २०२१-सम्म टीमको निम्ति खेलेको १७ साल भइसकेको थियो। यस अवधि चारपल्ट वर्ल्ड कप अनि पाँचपल्ट कोपा अमेरिका टुर्नामेण्टमा निराशाको सामना गर्नु परेको थियो। यसमा २०१४-को वर्ल्ड कप फाइनल पनि सामेल छ। त्यस समय मेस्सीले टीमलाई फाइनलसम्म पुऱ्याएका थिए तर अन्तमा जर्मनी विरुद्ध पराजित भएर उपविजेता रहेको थियो। मेस्सीलाई टुर्नामेण्टको बेस्ट प्लेयर चयन गरिएको थियो तर उनले विश्व कप छुन सकेनन्। अर्जेण्टिनाको जर्सी लगाएर लगातार विफलताले गर्दा मेस्सीले २०१६-मा त अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा पनि गरेका थिए तर प्रशंसक र देशका राष्ट्रपतिको आग्रहमा उनी फर्किएका थिए। अन्तर्राष्ट्रिय स्तरमा विफलताले गर्दा धेरैले उनलाई क्लब स्तरका दिग्गज भन्न थालेका थिए तर मेस्सीको भाग्य अचानक बद्लियो। साल २०२१-मा उनको कप्तानीमा अर्जेण्टिनाको टीमले पहिलोपल्ट कोपा अमेरिका खिताब जित्यो। त्यसपछि २०२२-मा दुई महादेशका सर्वश्रेष्ठ टीमबीच फिनालिसिमा भयो। दक्षिण अमेरिकाको सर्वश्रेष्ठ टीम अर्जेण्टिना र यूरोपको सर्वश्रेष्ठ टीम इटलीबीच लण्डनको वेम्बले स्टेडियममा खेलिएको म्याचमा मेस्सीले फेरि एकपल्ट चमत्कारी प्रदर्शन गर्दै टीमलाई जीत दिलाए। यो उनको दुई सालमा लगातार दुईवटा खिताब थियो। त्यसपछि गत वर्ष कतरमा भएको फिफा वर्ल्ड कपमा पनि मेस्सीको जादू चल्यो। उनले आफ्नो दममा अर्जेण्टिनालाई फाइनलमा पुऱ्याएर च्याम्पियन पनि बनाए। यसको साथै उनको करियर पनि कम्प्लीट भयो। उनले विश्व जितेका थिए।
क्लब स्तरमा उनले २०२१-मा बार्सिलोना छोड़ेपछि फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेनमा सामेल भए। फ्रान्सको क्लबमा दुई साल बिताएपछि उनले अलग हुने फसेला गरे। पीएसजी छोड़ेपछि उनले अमेरिकामा गएर फूटबल खेल्ने फसेला गरे। त्यहाँ उनले मेजर लीग सकरको क्लब इण्टर मियामीसँग अनुबन्ध गरेका छन्। उल्लेखनीय छ, अमेरिकामा आउँदो तीनवटा ठूलो टुर्नामेण्ट हुनेछ। यसमा २०२४-मा कोपा अमेरिका, २०२५-मा क्लब वर्ल्ड कप अनि २०२६-मा फिफा वर्ल्ड कप सामेल छ। प्रशंसकहरूलाई अमेरिकामा पनि सातपल्टका बेलोन डीओर विजेता मेस्सीको खुट्टाको जादू हेर्ने प्रतीक्षा रहेको छ।