२४ जूनः भारतका महान ब्याटर सुनिल गावस्कर वेष्ट इण्डिज यात्राको निम्ति घोषित भारतीय टेस्ट टीमसँग सन्तुष्ट छैनन्। भारतले १२-देखि २५ जुलाईबीच वेष्ट इण्डिज विरुद्ध दुईवटा टेस्ट म्याचको सीरीज खेल्नेछ, जसको निम्ति रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा जस्ता शीर्ष खेलाड़ीहरू टीममा रहेका छन्। भारतले यस यात्रामा तीनवटा वनडे र पाँचवटा टी२०आई म्याचको सीरीज पनि खेल्नेछ। यसमा राष्ट्रिय चयनकर्ताहरूले टेस्ट र वनडे सीरीजको निम्ति टीमको घोषणा गरेका छन्। टीमको चयनमाथि निराशा व्यक्त गर्दै गावस्करले भारतका शीर्ष खेलाड़ीहरूलाई महत्त्वपूर्ण वनडे वर्ल्ड कप २०२३ अघि पर्याप्त आराम प्राप्त नहुने बताए, जुन अक्टोबर महिना भारतमा खेलिनेछ। गावस्करले भने, उनीहरूलाई ब्रेक दिनु पर्नेछ। पर्याप्त आराम जरूरी छ। उनीहरूले १२ जूनमा अन्तिम म्याच खेलेका थिए। यसैकारण कुनै टेस्ट म्याच खेल्ने या यात्रामा जाने आवश्यकता थिएन। अब उनीहरू टीमसँग क्यारेबियन आइल्याण्ड्स जानेछन् अनि १-२ जुलाईदेखि अभ्यास शुरु गर्नेछन्। यसरी उनीहरूले मुश्किलले २० दिनको विश्राम पाउनेछन्। खेलाड़ीहरूले कम्तीमा ४० दिनको ब्रेक पाउनु पर्छ। यस्तो गरे उनीहरू तरोताजा भएर मैदानमा ओर्लिन सक्नेछन्। उल्लेखनीय छ, गावस्करले पहिला पनि सबै फर्मेटमा खेल्ने शीर्ष खेलाड़ीहरूलाई अधिक आराम दिने कुरा दोहोऱ्याएका छन्।
यसको साथमा गावस्करले टोलीको चयनले रणजी ट्रफी र अन्य घरेलु टुर्नामेण्टहरूमा असल प्रदर्शन गर्ने खेलाड़ीहरूलाई अवहेलना गरेको पनि बताए। उनले सरफराज खानको उदाहरण दिँदै घरेलु प्रारूपमा असल प्रदर्शन गर्ने ब्याटरहरूका प्रदर्शनलाई मान्यता नै नदिए यस्ता टुर्नामेण्टहरूमा खेल्ने कुनै अर्थ नहुने बताए। गावस्करले भने, सरफराज खानले गत तीन सीजनमा १००-को औसतले रन बनाएका छन्। टोलीमा चयन हुन अब एकजना खेलाड़ीले यसभन्दा अधिक के नै गर्न सक्छन् ? उनलाई अन्तिम एकादशमा नभए पनि टीममा राख्न सकिन्थ्यो। उनको प्रदर्शनलाई मान्यता दिइएको अनुभव गराउन सकिन्थ्यो। यस्तो नभए रणजी ट्रफी खेल्नु बन्द गर्दा भयो। यसमा खेलेर कुनै फाइदा नहुने अनि आईपीएल मात्र खेल्नु भन्दा भयो।
गावस्करले टेस्ट टीमबाट चेतेश्वर पुजारालाई बाहिर गरिएकोमा पनि निराशा व्यक्त गरे। वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा निराशाजनक प्रदर्शनपछि पुजारालाई वेष्ट इण्डिज विरुद्ध दुईवटा टेस्ट म्याचको सीरीजबाट बाहिर गरिएको छ। यसबारे गावस्करले भने, उनलाई किन टीमबाट हटाइयो? हाम्रो ब्याटिंग विफलताहरूमा किन उनलाई नै बलिको बोका बनाइन्? उनी भारतीय क्रिकेटका ईमानदार सेवक रहेका छन्। पुजारालाई यसरी बारम्बार निशाना बनाइनु राम्रो संकेत होइन।
भारतीय टेस्ट टीमः रोहित शर्मा (कप्तान), शुभमन गिल, रुतुराज गायकवाड़, विराट कोहली, यशस्वी जयसवाल, अजिंक्य रहाणे (उपकप्तान), केएस भरत (विकेटकीपर), इशान किशन (विकेटकीपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, मोहम्मद सिराज, मुकेश कुमार, जयदेव उनादकट, नवदीप सैनी।
भारतीय वनडे टीमः रोहित शर्मा (कप्तान), शुभमन गिल, रुतुराज गायकवाड़, विराट कोहली, सूर्यकुमार यादव, सञ्जु सेमसन (विकेटकीपर), इशान किशन (विकेटकीपर), हार्दिक पाण्ड्या (उपकप्तान), शार्दुल ठाकुर, रविन्द्र जडेजा, अक्षर पटेल, युजवेन्द्र चहल, कुलदीप यादव, जयदेव उनादकट, मोहम्मद सिराज, उमरान मलिक, मुकेश कुमार।
वेष्ट इण्डिज यात्राः
१२-१६ जुलाईः पहिलो टेस्ट म्याच, विण्डसर पार्क, डोमिनिका
२०-२४ जुलाईः दोस्रो टेस्ट, क्वीन्स पार्क ओवल, त्रिनिदाद
२७ जुलाईः पहिलो वनडे, केनिंग्स्टन ओवल, बारबाडोस
२९ जुलाईः दोस्रो वनडे, केनिंग्स्टन ओवल, बारबाडोस
०१ अगस्तः तेस्रो वनडे, ब्रायन लारा क्रिकेट एकाडमी, त्रिनिदाद










