गान्तोक: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र युवा प्रकोष्ठद्वारा तीन दिवसीय ग्रीष्मकालीन शिविर गान्तोक स्थित प्रसिद्ध ठाकुरबाड़ी मन्दिरको प्रेक्षगृहमा शुरु गरियो। उक्त शिविरमा उत्तर पूर्वाञ्चल क्षेत्रमा पर्ने सिक्किम राज्य लगायत दार्जीलिङ, तराई, डुवर्स गरि जम्मा २९ वटा तहसीलअन्तर्गत प्रत्येक तहसीलबाट २० जना युवाले उपस्थिति जनाएका छन। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रद्वारा युवा प्रकोष्ठलाई लिएर प्रत्येक वर्ष ग्रीष्मकालीन शिविर तथा शीतकालीन शिविरको आयोजना गरेर युवाहरूलाई दक्ष जनशक्ति सभ्यसमाज, अनुशाषित, कर्तव्यनिष्ठ, देशप्रेम, अप्राकृतिक घटना सम्बन्धी विषय लिएर विशेष युवाहरूलाई मानव मूल्यमाथि जागरूक गराउने कार्य गर्नु रहेको छ। उत्तर पूर्वाञ्चल क्षेत्र अध्यक्ष महात्मा अदिना बाईजीद्वारा दीप प्रज्वलन गरि सुरू गरेको शिविरमा गान्तोक तहसील प्रभारी महात्मा ज्ञान बाईजीले शिविर सफलताको कामना गर्दै आफ्नो उद्बोधन बिचार राखिन। यसरी नै श्रोत वक्ताको रूपमा सुनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्रीले युवा प्रकोष्ठलाई सम्बोधन गर्दै शिक्षा अभियान सबै भन्दा ठूलो सम्पति हो भन्दै आजको युवाहरूमा शिक्षाको कमी छैन, नोकरीको कमी छैन, धन दौलतको कमी छैन,तर किन अकाल मृत्युलाई अङ्गाली रहेछन? भनी उल्लेख गरे। अध्यात्मिक शिक्षाको कमिले यस प्रकारको संकट खड़ा हुने बताए। जसरी अन्य कार्यमा समय दिन्छौं त्यसरी नै आध्यात्ममा पनि समय दिन सक्नुपर्ने तब नराम्रो पथ र लतमा लाग्नबाट बाँच्न सकिने बताए। समाजमा दिशाहीन भएको युवाहरुलाई यहाँबाट केहि सिकेर अन्यलाई पनि केहि सिकाउने आव्हान गरे। यसरी नै सिक्किम सरकार शैक्षिक अनुसन्धान साथै प्रशिक्षण परिषदकी सहायक प्राध्यापक डा रञ्जु प्रधानले युवा प्रकोष्ठलाई अन्तर्क्रिया मार्फत सही समय,सही शिक्षामाथि प्रेरित हुने मूल्यबारे बिचार राखिन। प्रथम दिनको शिविरमा सिक्किम विश्वविद्यालय संगीत विभागका प्राध्यापक तथा बाँसुरी वादक डा सन्तोष कुमारलाई सन्त-महात्मागणको बाहुलीबाट अंगवस्त्र र अभिनन्दन पत्रद्वारा सम्मान जनाइयो। यसरी नै डा रञ्जु प्रधानलाई पनि युवा प्रकोष्ठको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो। प्रथम दिनको शिविरलाई जोरथाङ तहसील सह-प्रभारी महात्मा अणिमा बाईजी र महात्मा पुष्पवती बाईजीले पनि सम्बोधन गरेकी थिईन।