दार्जीलिङ: वर्ष २०२३ को साहित्य अकादमी युवा पुरस्कार असमकी नैना अधिकारी अनि बाल साहित्य अकादमी पुरस्कार मधुसूदन विष्टलाई प्रदान गरिने घोषणा भएको छ। बाल साहित्य अकादमीका अध्यक्ष माधव कौशिकको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले साहित्य अकादमीको बाल साहित्य पुरस्कार २०२३ का लागि २२ जना लेखकहरूको छनौटलाई अनुमोदन गरेको थियो। यस प्रयोजनको लागि तोकिएको नियम र कार्यविधि बमोजिम सम्बन्धित भाषामा तीन-तीन सदस्य रहेको निर्णायक मण्डलले गरेको परिणामको आधारमा चयन गरिएको छ।
यसैको आधारमा आज बाल साहित्य पुरस्कार अनि युवा साहित्य अकादमी पुरस्कारको घोषणा गरिएको जानकारी प्राप्त भएको छ। गत १३ जूनमा बसेको सभा अनुसार आज बसेको बैठक साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका पूर्व संयोजक साथै हाल अकादमी सदस्य प्रेम प्रधानको अध्यक्षतामा गरिएको उक्त सभामा साहित्य अकादमीको दुइ पुरस्कारको घोषणा गरिएको छ। पूर्व संयोजक साथै अकादमी सदस्य प्रधानले बताएअनुसार युवा पुरस्कारका जुरीहरूमा क्रमैले डा गीता छेत्री, केदार गुरूङ अनि विमल राई रहेका थिए भने बाल पुरस्कारका जुरीहरूमा क्रमैले कृष्णराज घतानी, गोवर्द्धन बाँसतोला, किरणकुमार राई रहेका थिए। आज बसेको यसै सभा अनुसार साहित्य अकादमी बाल साहित्य पुरस्कार दार्जीलिङका मधुसूदन विष्ट अनि युवा पुरस्कार असमका नैना अधिकारीलाई प्रदान गरिने घोषणा गरिएको छ।दार्जीलिङबाट बाल साहित्य पुरस्कार मधुसूदन विष्टको २०२० मा प्रकाशित बाल एंकाकी कृतिलाई प्रदान गरिने भएको छ।

आजपर्यन्त मधुसूदन विष्टले बाल साहित्य सम्बन्धी कृतिहरू क्रमैले बाल गीत संग्रह (१९८६), गोर्खा वर्ण ज्ञान(१९९६),मेरो रमाइलो किताब(शिशु, भाग १, भाग २), (१९९८), मेरो नयाँ रमाइलो किताब (भाग ३, भाग ४) (२०१०), महान् राजा पृथ्वीनारायण शाह(चित्र कथा), (१९८८ प्रकाशन २०२०), वीर खड्गबाहादुर विष्ट(चित्र कथा)(१९९० प्रकाशन २०२०), केही सुनेका केही बुनेका कथाहरू(२०२०) पाठकसमक्ष सार्वजनिक गरिसकेका छन्। त्यसरी नै असमकी नैना अधिकारीलाई वर्ष २०२३ को साहित्य अकादमी युवा पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। उनको कविता संग्रह ‘घात प्रतिघातका उदगारहरू’ को लागि यसपालीको साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ। उनी साहित्य अकादमी युवा पुरस्कार पाउने पहिलो नारी हस्ताक्षर हुनेछन्।