गान्तोक: प्रधानमन्त्री आदी आदर्श ग्राम योजनालाई लिएर जिल्लास्तरीय सभा नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। नाम्चीका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा विभिन्न विभागका अधिकारीहरूले उपस्थिति जनाएका थिए। उक्त सभामा वेलफेयर अधिकारी क्योन्दित लेप्चाले प्रधानमन्त्री आदी आदर्श ग्राम योजनाबारे विस्तृतरूपमा जानकारी गराए। उनले जानकारी गराए अनुसार सिक्किम राज्यमा ४२ वटा गाउँ रहेको र वर्ष २०११ को जनगणनाअनुसार ४० प्रतिशत जनजाति रहेको उल्लेख गरिएको छ। यस योजनाको निम्ति नाम्ची जिल्लामा सातवटा ग्राम पञ्चायत यूनिटलाई छनौट गरिएको छ, जसमा कटेङ पाम्फोक,पर्विङ, दोभान, रालोङ- नाम्लुङ, बर्फुङ- जारोङ, क्युजिङ बाखिम, लामातेन- तिङमो र सिरिपताम -गाग्योङ सामेल रहेको छ। सभालाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले यस ग्राम पञ्चायत यूनिटहरूलाई छनौट गरिनुको मुख्य लक्ष्य उक्त गाउँमा सामाजिक, आर्थिकरूपमा विकास गरिनु रहेको बताए। विशेष गरेर शिक्षा, स्वास्थ, क्षमता विकास र जीविकापोर्जनमा उक्त गाउँलाई विकास गरेर लैजानु नै यस योजनाको अर्को उद्देश्य रहेको उनले थप जानकारी गराए। यसै क्रममा सहनिर्देशक पुल्कितले भिलेज डेभलोपमेन्ट योजनाबारे जानकारी गराउँदै पछौटे क्षेत्रहरूसँग सम्बन्धित आधारभूत सेवा र सुविधाहरू सुधार गर्न मुख्य विषय रहेको बताए।