गान्तोकः सिक्किम ओलम्पिक एसोसिएशनको तत्वावधानमा आज पाल्जोर स्टेडियम परिसरमा अन्तरराष्ट्रिय ओलम्पिक दिवस भव्यताका साथमा पालन गरियो। यस अवसरमा ग्रामीण विकास विभागका मन्त्री सोनाम लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिए। सिक्किमका राज्यपाल लक्ष्मण आचार्य साथै सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा पठाइएको सन्देश अध्यक्ष कुबेर भण्डारीले पढेर सुनाएका थिए।
मुख्य अतिथिको सम्बोधनको क्रममा मन्त्री सोनाम लामाले सम्पूर्ण सिक्किमवासी तथा खेलाडीहरूमा अन्तरराष्ट्रिय ओलम्पिक दिवसको शुभकामना व्यक्त गरे। ओलम्पिक खेलले विभिन्न राष्ट्रका खेलाडीहरूलाई एउटै मंचमा ल्याएर एक अर्काको प्रतिभा साथै राष्ट्रका सभ्यता र संस्कृतिसँग पनि परिचित हुने सुअवसर प्रदान गरिरहेको उनले उल्लेख गरे। सिक्किममा खेलको क्षेत्रमा वर्तमान सरकार साथै मुख्यमन्त्री स्वयं सचेत रहेका कारण खेललाई अझ बढावा दिन विभिन्न पूर्वाधारहरूको निर्माण भइरहेको उनले जानकारी गराए।
बक्सिङ खेलको प्रगतिको निम्ति हालै मात्र मुख्यमन्त्रीले घोषणा गरे अनुरुप जसलाल प्रधान राज्य बक्सिङ अकादमीको पनि चॉंडै शिलान्यास गर्नै तयारी भइरहेको उनले थप जानकारी गराए। खेलाडीहरूलाई खेलप्रति अझ प्रोत्साहित गर्न र खेलाडीहरुको भविष्य सुनिश्चित गर्न सरकारको पक्षबाट खेलाडीहरूलाई सहयोग प्रदान गर्ने साथै खेलाडीहरूलाई नोकरी प्रदान गर्ने वर्तमान सरकारको योजना रहेको उनले बताए।
यसरी नै सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष कुबेर भण्डारीले पनि यसपालिको अन्तरराष्ट्रिय ओल्मपिक दिवसको थिम ‘लेट्स मुभ’ रहेको अवगत गराउँदै सिक्किममा आजको दिनमा राज्यभरि नै विभिन्न स्कूलहरूमा, खेल संस्थानहरूमा अन्तरराष्ट्रिय ओल्मपिक दिवस विभिन्न प्रकारले मनाइरहेको जानकारी दिए। सिक्किम सानो राज्य भए पनि सिक्किमको वर्तामान सरकार खेलको क्षेत्रलाई प्रोत्साहन गर्न जहिले तत्पर रहेको कारण धेरै खेलाडीहरूले राष्ट्रिय साथै अन्तरराष्ट्रिय क्षेत्रमा भाग लिने मौका पाइरहेको उनले बताए।
सिक्किमबाट हालसम्म जसलाल प्रधान (बक्सिङ) र तरुणदिप राई (आर्चरी) ले मात्र ओलम्पिक खेलमा भाग लिएको कुरा बताउँदै अब धेरै खेलाडीहरूलाई ओलम्पिकसम्म पुऱ्याउनको निम्ति आगामी वर्ष जिल्लास्तरीय र राष्ट्रस्तरीय ओलम्पिक खेलको आयोजना गरेर विशेष तृणमूल स्तरका प्रतिभाशाली खेलाडीहरूलाई अघि बढाउने एसोसिएशनको भावी योजना रहेको उनले बताए।
अर्जुन अवार्डले सम्मानित साथै सिक्किमका पहिलो ओल्मपियन जसलाल प्रधानले पनि पत्रकारहरूसँगको कुराकानीको क्रममा सिक्किमले अहिलेसम्म नयाँ ओलम्पियनहरू जन्माउन नसकेकोमा खेद प्रकट गर्दै पढाईमा जस्तै खेलको क्षेत्रमा पनि अभिभावकहरू सचेत बनेर नानीहरुलाई खेलमा पनि बढ्न सकुन भनेर प्रोत्साहन साथै निर्देशन दिनु पर्ने सुझाउ दिए। यसका साथै भविष्यको दिनमा खेलाडीहरूलाई ओलम्पिक खेलसम्म पुऱ्याउने लक्ष्य लिएर हालसम्म सोरेङ जिल्ला र गेजिङ जिल्लामा ओलम्पिक एसोसिएशनको शुरुआत भइसकेको र अन्य ठाउँहरूमा पनि चाँडै शुरु गरिने जानकारी दिए।
आजको यस अवसरमा प्रमुख अतिथिले पाल्जोर स्टेडियम परिसरमा रहेको बक्सिङ रिङमा गएर खेलाडीहरूलाई शुभकामना दिए साथै खेल मैदानमा खेलो इण्डियाद्वारा आयोजित खेल प्रदर्शनीमा पनि उनी उपस्थित जनाए। आज अन्तरराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको रक्तदान शिविरमा पनि भ्रमण गरेर अधिकारीहरूसँग भेट गरे। आजको कार्यक्रममा सिक्किम ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष जाङ्पो भोटिया, सचिव सुकान्त दास, सिक्किम ओलम्पिक एसोसिएशनका सह- सचिव विधान वल्लभ सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।