खरसाङ: आगामी पञ्चायत चुनावमा खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा चारजना प्रार्थीहरू पञ्चायत समितिको लागि चुनाव मैदानमा उत्रेका छन्। महानदी ग्राम पञ्चायतमा रहेको दुईवटा सिटमध्ये सिविटार, गिताङ्गे र जंगपाना क्षेत्रबाट भागोप्रमोको प्रार्थी कुसाङ लामा निर्विरोध रहेका छन् भने महानदी र घुम्ती चियाबारी क्षेत्रमा पञ्चायत समितिको लागि चारजना प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। महानदी ग्राम पञ्चायत अन्तर्गत महानदी र घुम्ती क्षेत्रमा रहेको सिटमा पहाड़को सत्तामा रहेको दल भागोप्रमोले घुम्ती चियाबारी निवासी सरिता मुखिया प्रधानलाई प्रार्थीको रूपमा खड़ा गराएका छन्। उनी गत २००० सालमा भएको पञ्चायत चुनावमा महानदी ग्राम पञ्चायतमा उप प्रधान समेत रहेकी थिइन्। हालमा उनी घुम्ती चियाबारीमा नारी शक्तिको सचिव पनि थिइन्। उनको प्रतिद्वान्दीको रूपमा महानदीको तिरसठ लाइनबाट सुमन कार्की निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका छन्। त्यसरी नै महानदीकै स्वनिर्भर दलहरूमा सक्रिय रूपमा खटिरहेका रोजी राई पनि पञ्चायत समितिको प्रार्थीको रूपमा चुनाव मैदानमा रहेका छन्। चौथो प्रार्थीको रूपमा घुम्ती चियाबारीबाट अदिप प्रधान पनि निर्दलीय प्रार्थीको रूपमा पञ्चायत समितिमा प्रतिस्पर्धा गरिरहेका छन्। चारैजना प्रार्थीहरूले आफ्नो जीतप्रति आशावादी रहेको देखिएको छ। पहाड़मा पहिलोपल्ट दुई स्तरीय पञ्चायत चुनाव भईरहेको छ अनि पञ्चायत समितिमा पहिलोपल्ट प्रतिद्वान्दिता भईरहेको भएपनि मानिसहरू पञ्चायत समितिमा रहेर कार्य गर्नलाई उत्साहित देखिएको छ। यस विषयमा भागोप्रमोको प्रार्थी सरिता मुखिया प्रधानले जनताको सेवा गर्न तयार रहेको बताउँदै चुनाव जितेर गएको खण्डमा सबैको सर सल्लाहमा अनुसार कमिटी बनाएर जनताको लागि काम गर्नेछु भनी बताएका छन्। उनले आफु पञ्चायत भएको समय सबैले रूचाएको र कामहरू पनि गरेकोले यसपाली पनि जनताले भोट हालेर जिताउने आशा व्यक्त गरेका छन्। त्यसरी नै महानदी ग्राम पञ्चायतको पञ्चायत समितिको लागि निर्दलीय प्रार्थी सुमन कार्कीले अहिलेसम्म आफुले गरेको सामाजिक कार्यहरूले गर्दा जनताले भोट दिएर जिताउनेछ भनी आशा रहेको बताएका छन्। उनले आफुलाई गाउँ समाजको पनि सहयोग रहेको र आफ्नो कार्यहरू हेरेर जनताले जिताउने कुरामा आशावादी रहेका छन्। पञ्चायत समितिको लागि प्रार्थीको रूपमा रहेका नारी प्रार्थी रोजी राईले पनि आफ्नो जीतप्रति आशावादी रहेको बताइन्। उनले आफुले जितेर गएको खण्डमा महानदी क्षेत्रमा खेल मैदान र उप स्वास्थ्य केन्द्रको निर्माणको लागि पहल गर्ने बताएका छन्। उनले अहिलेसम्म आफुले स्वनिर्भर दलहरूमा रहेर विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको र यसले गर्दा स्वनिर्भर दलहरूका नारीहरू लगायत जनताले पनि भोट दिएर जिताउनेछ भनी आशा व्यक्त गरेका छन्। महानदी ग्राम पञ्चायतमा नै पञ्चायत समितिको लागि चुनाव लड़िरहेका घुम्ती निवासी निर्दलीय प्रार्थी अदिप प्रधान पनि पञ्चायत समितिमा जीतप्रति आशावादी रहेको देखिएको छ। उनले धेरै वर्षपछि पञ्चायत चुनाव भएकोले आफुहरू खुशीसाथ गाउँ घरको विकास गर्नलाई चुनावमा प्रतिद्वान्दिता गरिरहेको बताएका छन्। अदिप प्रधानले भने, गाउँमा कतिवटा कामहरू गर्न र बुनियादी सुविधाहरू गाउँमा ल्याएर विकास गर्न आफ्नो लक्ष्य रहेको बताएका छन्। चारैजना पञ्चायत समितिको प्रार्थीहरू आफ्नो आफ्नो जीतप्रति आशावादी रहेका छन्।