सिडनी: अष्ट्रेलियाका एक पूर्वपादरी ७० भन्दा बढी यौन दुर्व्यहारको दोषी प्रमाणित भएका छन्। हालै ८९ वर्षीय पूर्वपादरी जेराल्ड रिड्सडेलले बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरेपछि उनले ७२ वटा अपराध गरेको पुष्टि भएको छ। उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन्। सो सँगै उनले १९३औं अपराध गरेको पुष्टि भएको छ। नयाँ अपराध प्रमाणित भए पछि अब उनलाई थप सजाय हुनसक्छ। गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो।
उनीविरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएको थियो। उनै पादरी माथि थप अर्को आरोप पुष्टी भए पछि उनी पुनः चर्चामा आएका हुन्। भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यवहारका घटना बाहिर आएपछि देशभर हंगामा मच्चाएको थियो। उनी यतिबेला ओछ्यानबाट उठ्न सक्दैनन्, उनलाई जेलको अस्पतालमा राखिएको छ। हालै स्थानीय बल्लार मजिस्ट्रेटको अदालतले ७२औं मुद्दाको सुनुवाइ भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको हो। १९८७ को पछिल्लो मामला मेलबर्नबाट ३०० किलोमिटर टाढा रहेको होर्शाम स्कूलसँग सम्बन्धित छ, जहाँ उनले एक सहायक पादरी हुँदा एक १३ वर्षीय केटालाई यौन दुर्व्यवहार गरेका थिए। पछिल्लो दोषी ठहरिए पछि, जेराल्डलाई उसको १९३औं अपराधको लागि सजाय सुनाइनेछ। उनलाई सजायका लागि १५ अगस्तमा अदालतमा पेश गरिनेछ।