लखनऊ: मुख्यमन्त्री योगी आदित्यनाथले डा. श्यामा प्रसाद मुखर्जीको पुण्यतिथिको अवसरमा पुष्पाञ्जलि अर्पण गरी उनलाई नमन गरे। मुख्यमन्त्री योगीले भने, ‘महान स्वतन्त्रता संग्रामी तथा प्रख्यात शिक्षाविद् भारतीय जनसंघका संस्थापक अध्यक्ष डा. श्यामा प्रसाद मुखर्जीको आज पावन बलिदान दिवस हो। यस अवसरमा राज्य सरकार अनि राज्यवासीको तर्फबाट डाक्टर मुखर्जीको बलिदानप्रति नमन गर्दै उनलाई विनम्र श्रद्धाञ्जलि समर्पित गर्दछौंl’
पुष्पाञ्जलि अर्पण गरेपछि मीडियासितको साक्षात्कारमा मुख्यमन्त्री योगीले भने, ‘हामी सबैलाई थाहा भएको कुरा हो, डा. मुखर्जी एकजना महान शिक्षाविद् थिए। ३३ वर्षको कलिलै उमेरमा उनी कलकत्ता विश्वविद्यालयका कुलपति नियुक्त भएका थिए। देशको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. मुखर्जी जस्ता महान राष्ट्र नायकहरूको देश विभाजनको त्रासदीलाई रोक्न तथा सम्पूर्ण बंगाललाई अंग्रेजहरूको कुटिलतादेखि बचाउनमा ठूलो योगदान रहेको छl’ उनले भने, ‘स्वतन्त्रतापछि डाक्टर श्यामा प्रसाद मुखर्जीले महसुस गरे, जुन मूल्य अनि आदर्शहरूलाई लिएर देश स्वतन्त्र भएको थियो तत्कालीन सरकार त्यसबाट विमुख भएर तुष्टीकरणका पोषक नीतिहरूलाई अघि बढ़ाउनमा लागिपरेको छ। त्यसपछि उनले त्यागपत्र दिएर भारतीय जनसंघको संस्थापकको रूपमा कार्य गर्न थाले। भारतीय जनसंघको अध्यक्षको रूपमा उनले सरकारको तुष्टीकरणसित सम्बन्धित सबै नीतिहरूको विरोध गरे जसले भारतको एकता अनि अखण्डतालाई जोखिममा धकेल्न सक्थ्योl’
योगीले भने, ‘उनको बलिदान २३ जून, १९५३ मा कश्मीरलाई बचाउनको निम्ति भारतीय अखण्डताको लागि भएको थियो। डा. श्याम प्रसाद मुखर्जीको सपनालाई प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्त, २०१९ मा कश्मीरबाट धारा ३७० लाई सदैवको निम्ति समाप्त गरेर साकार बनाएका छन्। भारतीय कानून एवं भारतका सबै व्यवस्थाहरू जम्मू-कश्मीरभित्र पनि लागू हुनेछ। त्यहाँ लोकतान्त्रिक प्रक्रिया पूर्ण सुदृढ़ताको साथमा बहाल हुनेछ। यो निर्णय डाक्टर श्याम प्रसाद मुखर्जीका सपनहरूलाई साकार पार्नु जस्तै होl’ यस अवसरमा उपमुख्यमन्त्री ब्रजेश पाठक, पूर्वमन्त्री मोहसिन रजा, महापौर सुषमा खर्कवाल, विधायक योगेश शुक्ला, राजेश्वर सिंह, मुकेश शर्मा, डा. नीरज बोरा समेत अन्य उपस्थित थिए। -हिस