गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्य लिएर केही महिनादेखि एक अभियान शुरू गरेको छ। उक्त अभियान अन्तर्गत हालसम्म ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई पक्राउ गरिसकेको छ। पुलिसको एकल प्रयासले ड्रग्सको धन्दामा लिप्तहरूलाई धमाधम पक्राउ गर्दै आइरहेको छ। यसै क्रममा नाम्ची पुलिसले हिजो एक व्यक्तिलाई भारीमात्रामा नशालु पदार्थ सहित पक्राउ गरेको जानकारी गराएको छ। पक्रा पर्ने आरोपी पीडब्ल्यूडी विभागमा कनिष्क अभियन्ताकोरूपमा काम गर्दै आइरहेका थिए। पुलिसको भनाइ अनुसार ड्रग्ससहित पक्रा पर्ने आरोपी सरोज गुरूङकोरूपमा चिन्हित गरिएको हो। आरोपीलाई ड्रग्स बिक्री गर्दै गरेको अवस्थामा देखेपछि नाम्ची पुलिसले पक्राउ गरेको पुलिसले जानकारी गराएको छ। पुलिसले आरोपीबाट ९८ वटा नाइट्राजिपम र ४८ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको छ। आरोपीविरूद्ध नाम्ची थानामा पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।