गान्तोकः सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज बिहिवार पार्टीको ३१औं सम्पूर्ण क्रान्ति दिवस पालन गऱ्यो। गान्तोकस्थित एसडीएफ भवनमा पवन चामलिङको विशेष उपस्थितिमा आयोजित क्रान्ति दिवस समारोहमा पार्टीका वरिष्ठ तथा युवा कार्यकर्ताक सहभागिता रहेको थियो। यस अवसरमा पार्टीले सिक्किम भारतमा विलय हुनअघि ८ मई, १९७३ भएको त्रिपक्षिय सम्झौता र धारा ३७१ एफ नियम तथा सर्तहरू पुनरवालोकन हुनुपर्ने प्रस्ताव ग्रहण गरेको छ। समारोहलाई पार्टीका युवा कार्यकर्ता र हालै पार्टीमा सामेल भएका पूर्व सरकारी कर्मचारीले सम्बोधन गरेका थिए भने सामाजिक कार्यकर्ता ज्याक राई र उनको टोली लगायत विभिन्न स्थानका मानिसहरू एसडीएफमा सामेल भए।
क्रान्ति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा एसडीएफ अध्यक्ष पवन चामलिङले एसकेएम सरकारमाथि विभिन्न आरोपहरू लगाए। एसकेएम सरकारले राज्यका पञ्चायतहरूको अधिकार समाप्त गरेको, सिक्किमको विकास गति ठप्प बनेको, राज्यका साना ठिकादारको बिल पेमेन्ट नगरेर सिलगढीका केही महाजनहरूलाई उकास्ने काम गरेको, सिक्किमको औद्योगिक तथा पर्यटन क्षेत्रमा समाप्त हुँदै गएको आरोप लगाए। एसडीएफ पार्टीको सम्पूर्ण क्रान्ति नीतिकै कारण २५ वर्षमा सिक्किमे जनताका बुनियादी समस्याको सम्बोधन भएको र सिक्किम झोपडी मुक्त राज्य बनेको दाबी गर्दै वर्तमान सरकारकालमा सिक्किमको आयश्रोतको माध्यम समाप्त भएर गएको आरोप लगाए। २०२४ मा एसडीए सरकार गठन भए राज्यका सबै अस्थायी कर्मचारीलाई पहिलो क्याबिनेटबाटै स्थायी गर्ने, कर्मचारीको पुरानो पेन्सन व्यवस्था लागू गर्ने, स्थानीय भाषालाई विश्वविद्यालय स्तरसम्म पढाइने, सरकारी क्षेत्रका श्रमिकहरूलाई न्यूतम वेतन एरियरसहित प्रदान गर्ने, सिक्किममा युनिभर्सल बेसिक इन्कम लागू गरेर जनतालाई नगद अनुदान दिने, पूर्व पञ्चायतलाई मासिक १० हजार भत्ता दिने र ग्रामीण पर्यटन विकासका लागि पर्यटन गन्तव्यहरू बनाउने घोषणा गरे।
२०१९ को चुनाउ पराजय एसडीएफ पार्टीका लागि राम्रो साबित भएको दाबी गर्दै पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले पार्टी सुद्धिकरण भएको र युवा कार्यकर्ताले नेतृत्वको अवसर प्राप्त गरेको दाबी गरे। उनले पार्टी छाडेर जानेलाई धन्यवाद दिॅंदै भने, सरकार जानु हाम्रो निम्ति राम्रो भयो किनभने हामीले मान्छे चिन्ने र पार्टीमा समिक्षा गर्ने अवसर पायौं। जनताले पनि एसडिएफ सरकार नहुँदा कस्तो हुँदो रहेछ भन्ने अनुभव गरे अनि जनतालाई जन्तु सम्झिनेहरू पार्टी छोडेर गाइसके। एसडीएफ युवाको पार्टी भएर नयाँ दिशामा अघि बढेको छ, २०२४ मा युवाहरूको नेतृत्वमा सिक्किमले नयाँ स्वरुप लिनेछ। एसडीएफमा अब वरिष्ठ नेताहरूले कोचका रूपमा र युवाहरूले नेतृत्वका रुपमा काम गर्ने पवन चामलिङले बताएका छन्।
१९९३ मा त्यस समयको व्ययवस्था विरुद्ध गरिएको क्रान्ति र १९९४ मा गठित एसडीएफ सरकारले २५ वर्षको कार्यकालमा सबै जातिलाई समान सुरक्ष र पहिचान दिलाउन सफल भएको र सिक्किमे जनताका आवश्यकता पूरा गर्न सफल भएको दाबी गर्दै अब २०२४ मा पुन सरकार गठन गरेर यसलाई निरन्तरता दिने चामलिङले बताए। एसकेएम सरकारले जनताका घर निर्माण गर्ने कार्यमा पनि धनराशिको प्रावधान राख्न नसकेको आरोप लगाउँदै २०१८ मा एसडीएफले पारित गरेरका घर नाम बदली गरेर बनाएको र अब नयाँ घर बनाउन धनराशि नै नभएको बताए। वर्तमान सरकारले जनता भेट कार्यक्रम अवधि युवाहरूलाई नोकरी दिएको विषयलाई एसडीएफ अध्यक्ष पवन चामलिङले खुलेर आलोचना गरे। उनले भने, सरकारी नोकरी भिक्षा होइन युवाहरूको अधिकार हो। तर एसकेएम सरकारले राति दुई बजीसम्म युवाहरूलाई लाइन लगाएर उनीहरूको अधिकारको अपमान गर्दैछ। हामी सिक्किमका युवाहरूलाई सम्मान गर्छौं, उनीहरूलाई सिक्किममै राज गर्ने मालिक बनाउनेछौं। युवाहरूलाई वैकल्पिक सरकार दिनेछौं। यसका लागि एसडीएफ चुनावी मैदानमा उत्रिएको पनि चामलिङले घोषणा गरे। एसकेएम सरकार गोलेको टीमले चलाएको भन्दै एसडीएफ सरकार आएपछि युवा र जनताको टीम मौलाउने चामलिङले दाबी गरेका छन्।
अर्कोतर्फ एसकेएम सरकारले सिक्किम र सिक्किमे जनताका अधिकार मास्ने काम गरेको गम्भीर आरोप चामलिङले लगाए। एसकेएमले १८१६ को सुगौली सन्धी पहिलाको ग्रेटर नेपालमा सिक्किमलाई तकनिकी रूपमा विलय गराइसकेको चामलिङको आरोप रहेको छ। एसकेएम सरकारको कारण सिक्किम सीम रहित बन्यो भन्दै यही कारण ८ मई १९७३ को त्रिपक्षिय सम्झौता देखि लिएर वित्त विधेयक २०२३ सम्म पुनरवालोकन हुनुपर्ने एसडीएफको माग रहेको चामलिङले बताए। आउने चुनाउ सिक्किम मास्ने र सिक्किम बचाउने बीचमा हुने चामलिङले ठोकुवा गरेका छन्। उनले भने, सिक्किम बचाउन चहानेले एसडीएफलाई भोट दिनेछन र मास्न चहानेले एसकेएमलाई भोट दिनेछन्।
-हिस









