भागोप्रमोका ६० जना ग्राम पञ्चायतका निर्विरोध प्रार्थहरुलाई सम्बर्द्धना

IMG-20230622-WA0359.jpg

गोर्खाल्याण्ड विरोधी बीजेपी हो, पञ्चायत भोट गोर्खाको किपट बचाउने अनि पहाड बचाउने भोट हो: अनित थापा

दार्जिलिङ: दार्जीलिङको जिमखाना क्लबमा आयोजित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्विरोध विजयी हुने उम्मेदवारहरुलाई बधाई अनि सम्बर्द्धना दिने कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष अनित थापाले जनतालाई अनि क्षेत्रिय विपक्षी दलहरुलाई सचेत गराउँदै भने, ” घर साङ्लोको लड़ाईमा बनसाङ्लोलाई पस्नु दिनु हुँदैन। हाम्रो मिसन पञ्चायत अब पहाड बचाउने अभियान भएको छ।” थापाले घोषणा गरे, ” पञ्चायत चुनाव स्वर्गीय सुबास घिसिङले दिलाई दिनु भएको गोर्खाको किपट बचाउने चुनाव हो।”
उनले गठबन्धनमाथि कटाक्ष गर्दै भने, “दुर्वलहरुले बलवानलाई जित्नु गठबन्धन गर्छन। राजनीतिमा गठबन्धन हुनु नयाँ कुरा होइन। तर पञ्चायत चुनावको निम्ति बनिएको गठबन्धन पहाडको क्षेत्रिय राजनीतिको निम्ति खतराको घण्टी बनेर बज्दैछ। भाजपाले विमल गुरुङ अनि अजय एडवर्ड्सको पार्टीको उम्मेदवार समेतलाई आफ्नो चुनाव चिन्ह दिएर चुनाव लड्दैछ। विमल गुरुङ अनि अजय एडवर्ड्सको आफ्नै पार्टी छ, आफ्नै झण्डा छ। तर किन् बीजेपीको झण्डा मुनि लड्नु पर्यो? यो भाजपाको क्षेत्रीय दल मास्ने षड्यन्त्र हो। घर साङलोहरुको लडाइँमा भाजपा बन् साङलो भएर पस्दैछ। बन साङलोले घर सखाप पार्छ।”
स्मरण रहोस् भाजपाले १९५ जना दार्जीलिङ अनि १३२ जना कालेबुङ जिल्लामा ग्राम पञ्चायत चुनावको निम्ति प्रार्थीहरू दिएका छन् भने भाजपाले पञ्चायत समितिको दार्जिलिङमा ५२ सिट अनि कालेबुङमा ३७ सिटमा प्रार्थीहरू दिएका छन्। जब कि दार्जीलिङ जिल्लामा गठबन्धनका विमल गुरुङले २८, अजय एडवर्ड्सले २०९ , जी एन एल एफ ले ४५ अनि क्रा माकपा ले ७ जना उम्मेदवार ( ग्राम अनि समिती मिलाएर) मैदानमा उतारेका छन्।

पार्टीको जीतमाथि थापाले भने, ” यो जीत हाम्रो सोच अनि संघर्षको जीत हो। पहाडलाई शान्ति अनि समृद्धिको पथमा हिँडाएको जीत हो। यो जीत कार्यकर्ताको जीत हो। यो जीत पहाडको जीत हो।”

विपक्षीलाई कटाक्ष गर्दै थापाले भने, ” बीजीपिएम पार्टीले पहाडमा जन्म लिएपछि हरेक चुनाव उत्सव बनेको छ। बीजीपिएम हिंसामा विश्वास राख्दैन। हामी पहाडमा शान्ति अनि समृद्धि ल्याउने पार्टी हौं। पहाडमा बीजीपिएम आएपछि कुनै बन्द छैन, कुनै राजनैतिक हत्या भएको छैन।”
थापाले पहाडमा ठूलो खतराको घण्टी बज्दैछ भन्दै जनतालाई होसियार गराउँदै भने, ” गोर्खाल्याण्डको सपना पि पि एस हुँदै अहिले राज्य भित्रको व्यवस्थामा आएर टुङ्गिएको छ। हामीले ज्यान गोर्खाल्याण्डको निम्ति दिएका थियौं। हामीलाई बीजेपीले केही दिएको छैन।”
भाजपालाई चुनौती दिँदै उनले भने, ” पञ्चायत चुनाव जित्यो भने गोर्खाल्याण्ड हुन्छ भनोस बीजेपीले म मेरो सबै उम्मेदवार वापस लिन्छु। तर बीजेपीले गर्दैन कारण बीजेपीले झुटको राजनीति गर्छ।”

थापाले थप भने, “तपाईं र हाम्रो आवाज खोसिन्दैछ। गोर्खाल्याण्ड विरोधी हामी होइनौं। गोर्खाल्याण्ड विरोधी बिजेपी हो। गोर्खाल्याण्ड तुहाउन बीजेपीको ठूलो हात छ। तृणमूलले कहिले पनि क्षेत्रीय दलको राजनीतिमाथि हस्तक्षेप गरेको छैन।”

मिसन पञ्चायत हाम्रो पहाड बचाउने गोर्खाको किपट बचाउने अभियान हो। यो भोट सुवास घिसिङले दिलाउनु भएको गोर्खाको किपट बचाउने भोट हो, गोर्खालाई बचाउने भोट हो भन्दै उनले विपक्ष का क्षेत्रीय दललाई आह्वान गर्दै भने, “घर साङ्लोको लडाइँमा बन् साङ्लो लाई पस्नु नदिनुहोस्। किपट नै रहेन भने गोर्खा एकताको के काम?”
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष साथै कालेबुङका विधायक रुदेन सादाले भने, “पञ्चायत चुनाव गराएर सरकारले पहाडलाई न्याय दिएका छन्।हामीलाई दोषारोपण गरेर हामी कमजोर हुने पार्टी नै होइनौ। अनित थापाको नेतृत्वले पहाडलाई अघिल्लो खुड्किलो सम्म पुर्याउनेछ।”

पार्टी महासचिव अमर लामाले केन्द्रीय स्तरमा पञ्चायत चुनावको पार्टीको घोषणा पत्र पनि चाँडै सार्वजनिक हुने बताए। उनले पञ्चायत चुनाव अनित थापाकै प्रयासको कारण हुँदै गरेको किटान गर्दै भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नै दार्जिलिङ पहाडमा पञ्चायत चुनाव फर्काएर ल्याएको आधिकारिक रूपमा लिपिबद्ध छ।”
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका ९ जना पञ्चायत समितिका उम्मेदवार अनि ५१ जना ग्राम पञ्चायतका उम्मेदवारहरु गरी जम्मा ६० जना निर्विरोध विजयी बनेको खुसीमा विजयी उम्मेदवारहरुलाई बधाई अनि सम्बर्द्धना जनाउन कार्यक्रम आयोजना गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय समितिका सदस्यहरुको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement