प्रथम युवा ईजा स्मृति सम्मान पुरस्कार निर्दोषिका तामाङलाई प्रदान गरिने

IMG-20230622-WA0304.jpg

गोरूबथान: गोरूबथानकी छोरी युवा पत्रकार तथा गजलगो, कवि निर्दोषिका तामाङलाई प्रथम युवा ईजा स्मृति पुरस्कार प्रदान गरिने भएको छ। वर्तमान पत्रकारिताको क्षेत्रमा एउटा छुट्टै स्थान ओगट्न सफल बनेकी कवि तथा गजलगो निर्दोषिका तामाङलाई यो पुरस्कार आगामी १२ अगस्त २०२३ को दिन ३३ औँ ईजा जन्मोत्सवको अवसरमा प्रदान गरिनेछ। गोरूबथान, सौरेनी बस्ती निवासी पिता पासाङ तामाङ अनि माता आइपुरी तामाङकी एक्ली छोरी निर्दोषिका तामाङको पहिलो प्रकाशित कृतिको रुपमा गजल सङ्ग्रह स्मृतिका सौगातहरू नेपाली साहित्यलाई प्राप्त छ। नेपाली भाषा अनि साहित्यमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेकी अनि गजल लेखनबाट साहित्यमा पदार्पण गरेकी तामाङ हाल पत्रकारिताको क्षेत्रमा रहेर समाजलाई सेवा प्रदान गरिरहेकी छन्। २०१९ मा सर्वप्रथम एसके लाइभ निउज च्यानलबाट आफ्नो पत्रकारिता शुरु गरेकी निर्दोषिका अहिले प्रतिष्ठित हिमालयन नेटवर्क च्यानल सँग आवद्ध छन्। ईजा प्रकाशनद्वारा यस वर्ष देखि प्रदान गरिने प्रथम युवा ईजा स्मृति पुरस्कार निर्दोषिका तामाङलाई तिनले नेपाली भाषा साहित्यलाई पुऱ्याइरहेको योगदानको कदर गर्दै प्रदान गरिएको हो। जुरी सदस्यहरू डा. सुकराज दियाली, साहित्यकार कमला तामाङ अनि अमला छेत्री सुब्बाको छलफल अनि निर्णय पछि यस सम्मान पुरस्कार निर्दोषिका तामाङलाई प्रदान गरिने घोषणा गरिएको हो।
यता निर्दोषिका तामाङले पनि तिनलाई प्रथम युवा ईजा स्मृति सम्मान पुरस्कार प्रदान गर्ने खबरले हर्ष लागेको जनाउँदै यो पुरस्कारले साहित्य अनि पत्रकारिताको क्षेत्रमा अझ धेरै कार्य गर्ने जिम्मेवारी थपिएको महसूस गरेको बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement