२२ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा युनाइटेड दिलाराम फूटबल क्लबले फाइनलमा स्थान बनायो। गोथल्स मेमोरियल स्कूल मैदानमा बिहीवार खेलिएको पहिलो सेमिफाइनलमा युनाइटेड दिलाराम एफसी-ले चैतेपानी फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट निवास लामा, सञ्जोक भुजेल, बिसान्त राई र शुभम लामाले गोल गरे। यस म्याचमा प्रतीक गुरुङ मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा नितेस देवान र सलिम गुरुङ थिए। फोर्थ अफिसियलको जम्मेवारी सुरेन गुरुङ अनि जयेस प्रधान (रेकर्ड्स)-ले निर्वाह गरेका थिए। आजको म्याचमा विशेष अतिथिका रूपमा भूतपूर्व एडिसनल कमिश्नर (कमर्सियल ट्याक्स) तपन मुखर्जी, पुष्परानी रोय मेमोरियल स्कूलकी प्रधान अध्यापिका ललिता भण्डारी, शिक्षक राजु कार्की, सिरज नौबाघ र खेलप्रेमी पेम्बा तामाङ उपस्थित थिए। अब शुक्रवार (२३ जून) खेलिने दोस्रो सेमिफाइनलमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र कञ्चनजंघा फूटबल क्लब (केएफसी)-बीच भिड़न्त हुनेछ। फाइनल २५ जूनमा हुनेछ। लीगको फाइनलमा पुग्ने दुईवटा टीमलाई आउँदो हर्ली कपमा सिधै प्रवेश दिइनेछ।










