दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज संस्थापक अध्यक्ष सुवास घिसिङको ८८औं जन्म जयन्ती पालन गरेका छन्। केन्द्रीय कार्यालय दार्जीलिङमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा सुवास घिसिङको तस्वीरमा दीप प्रज्वलन र खदा माला लगाएर जन्म जयन्ती मनाएका छन्। यसको साथै अध्यक्ष मन घिसिङद्वारा जिगर बौद्ध गुम्बामा एक सय आठ बत्ती बालेर सुवास घिसिङको जन्म जयन्तीको अवसरमा पूजा आर्चना गरेको जानकारी प्राप्त भएको छ। यसै क्रममा केन्द्रीय समिति प्रवक्ता वाई लामाले आफ्नो विज्ञप्ति जारी गर्दै भने, ‘सुवास घिसिङ कुशल राजनैतिक नेता मात्र नभएर एक साहित्यकार साथै महान दार्शनिक नेता थिए। उनको कारण आज हामीलाई भारत देशमा गोर्खाहरुको परिचय प्राप्त भएको छ। गोर्खाहरुलाई राजनीतिको परिभाषा सिकाउने र १९८६ सालको आन्दोलनमार्फत् दार्जीलिङ गोर्खा पार्वतीय परिषद गठन भएपछि दार्जीलिङको भूभाग गोर्खाहरुको किपट हो भनी भारतवर्षभरि परिचय गराए। उनको कुशल राजनैतिक टेकको कारण यो भूभागलाई संविधानको धारा २४३(एम) अन्तर्गत सुरक्षा प्रदान गरेको आज प्रमाण गरेको छ। उनको कारणले गर्दा गोर्खाहरुले आज परिचय पाएको साथै गोर्खाहरुको संस्कृति , परम्परालाई सुरक्षा प्रदान गर्न हेतु कार्य हुँदा पहाडमा राजनैतिक परिवर्तन भएको कारण आज हामीले दुःख भोग्दैछौ। तर सुवास घिसिङले जिम्मा लगाएर गएको मूल मुद्दालाई वर्तमान अध्यक्ष मन घिसिङले पार लगाउन इमान्दारीपूर्वक कार्य गरिरहेका छन्। सुवास घिसिङको छवि नै हामी अध्यक्ष मन घिसिङमा पाउँछौं।’

गोरामुमो केन्द्रीय प्रवक्ता वाई लामाले अघि भने, आज केन्द्र सरकार , राज्यले पनि दार्जीलिङको भूभाग गोर्खाहरुको किपट हो भनी स्वीकार्दै पहाडमा दुई स्तरीय पञ्चायत चुनाव गराउँदैछ। आज बुद्धिजीवीदेखि सबैले सुवास घिसिङको राजनैतिक दुरदर्शितालाई सही हो भनी मानी लिएका छन्। सुवास घिसिङले गोर्खा जातिको निम्ति देखेको सपना तपाईं हामी सबै मिलेर पूरा गर्नुपर्छ र यो जिम्मेवारी अब तपाईं हाम्रो काँदमा छ र अवश्य हामी पूरा गर्नेछौं। आज केन्द्रीय कार्यलयमा गोरामुमो नेतृत्ववर्ग, भातृ संगठन लगायत कार्यकर्ताहरुको व्यापक उपस्थितिमा सुवास घिसिङको जन्मजयन्ती मनाउँदै श्रद्धाञ्जली अर्पण गरेको वाई लामाले थप जानकारी दिएका छन्।










