गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने भानु जयन्तीलाई लिएर आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा एक तयारी सभा सम्पन्न भयो। नाम्चीका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा सम्पन्न भएको यस सभामा अतिरिक्त जिल्लापाल चिरान रिजान, एसपी परशु शऱ्मा लगायत विभिन्न विभागका अधिकारी साथै संघ संस्थाका प्रतिनिधिहरूले उपस्थिति जनाएका थिए। सभामा जिल्लापाल एम भरानी कुमारले भानु जयन्ती तयारीबारे विभिन्न विभागका अधिकारीहरूलाई कार्यभार सुम्पिए। विशेष गरेर आयोजना गर्ने स्थल, मञ्च सजावट, लगायत अन्य जिम्मेवारी सुम्पिएको जानकारी गराइएको छ। सभामा कार्यक्रमको प्रमुख एजेन्डा लगायत अन्य विषयमा चर्चा परिचर्चा गरियो। सभामा विशेष गरेर भानुको शालिगमा माल्यार्पण, नाम्ची बजारमा आयोजना गरिने शोभायात्राबारेमा पनि छलफल गरियो। उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर विभिन्न विषयमा प्रतियोगिता आयोजना गरिने जस्तै कविता वाचन, रामायण पाठ, चित्र प्रतियोगिता,लोकनृत्य प्रतियोगिताबारे पनि निर्णय लिएको छ। जिल्लापालले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबै विभागले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पुरा गर्नुपर्ने आग्रह गरे।









