मुख्यमन्त्रीले मानेबुङ देन्ताममा पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरे, राहत राशि वितरण

pst._671

गान्तोकः पश्चिम सिक्किमको मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका पैह्रो प्रभावित मानिसहरूलाई सिक्किम सरकारले राहत वितरण गरेको छ। आज बुधवार मुख्यमन्त्री पीएस गोलेले उत्तरे लगायत अन्य पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरेर प्रभावित मानिसहरूलाई राहत वितरण गरे। रिम्बीमा खोला बढेर आउँदा गोठसँगै बगाएर मृत्यु भएका आशलाल लिम्बूको परिवारलाई मुख्यमन्त्रीले अनुग्रह राशि वितरण गरे। यसैगरी, उनले मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा पैह्रोले घर तथा ट्राउट पालन ध्वस्त बनाएका परिवारलाई मुख्यमन्त्री राहत कोषबाट राहत राशि वितरण गरे।

आज २५ परिवारले राहत चेक प्राप्त गरेका छन् भने अन्य प्रभावित परिवारलाई सरकारले राहत सामग्री वितरण गरेको छ। गत १८ जूनको बिहान परेको मुशलधारे वर्षाका कारण मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका २२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। घर पूर्ण रूपले ध्वस्त भएका परिवारलाई सरकारले मुख्यमन्त्री गरीब आवास योजनाबाट घर निर्माण गरिदिने वचन दिएका छन्। सरकारले प्राथमिक चरणको राहत राशि आज वितरण गरेको र जिल्ला प्रशासन र विभागीय पक्षबाट क्षतिबारे पूर्ण आकलन लिने काम पूरा भएपछि रहल मानिसहरूलाई पनि सरकारले क्षति अनुरुपको क्षतिपूर्ति प्रदान गर्ने मुख्यमन्त्रीले बताएका छन्। सिक्किम सरकारका मन्त्रीहरू, विभिन्न विभागीय प्रमुख, जिल्ला प्रशासनका अधिकारी लगाय सम्बन्धित अन्यसँग प्रभावित उत्तरे, देताम तथा अन्य क्षेत्रको भ्रमण गरेका मुख्यमन्त्रीले सडक सम्पर्क स्थापित गर्ने, पूल निर्माण गर्ने तथा पिउने पानी र बिजुली आपूर्तिका लागि सम्बन्धित विभागीय अधिकारीलाई काम शुरु गर्न निर्देश दिएका छन। उनले वर्षाको मौसमलाई ध्यानमा राखेर खाद्य सामग्रीको स्टक राख्न पनि निर्देश दिए।

जानकारी गराइन्छ, १८ जूनको बिहानको भल पैह्रोले उत्तरे नजिकको ईसाङ्ले खोलामा आएको भल पैह्रोले मानेबुङ देन्ताम निर्वाचन क्षेत्रको सोपाखा ग्राम पञ्चायत र भारत नेपाल सीमा क्षेत्र चिवाभञ्ज्याङलाई जोड्ने सडक पूर्ण रूपले बन्द भएको छ। ईसाङ्ले खोलामा तत्काल पुल निर्माण गर्न सम्भव नभएको स्थितिलाई ध्यानमा राख्दै मुख्यमन्त्रीले यहाँ एउटा बेली ब्रिज निर्माण गर्ने विभागलाई निर्देश दिए। अर्कोतर्फ देन्ताम नजिक इन्टेकबाट सोपाखा जाने सडकलाई पनि सुचारु राख्न मुख्यमन्त्रीले निर्देश दिएका छन्। घर क्षति भएर सार्नु परेका परिवारलाई पर्यटन विभागको अतिथि गृह लगायत अन्य सरकारी पूर्वाधारमा राखिने र उनीहरूको समस्या समाधान नभएसम्म खाने तथा रेन्टको व्यवस्था सरकारले गरिदिने मुख्यमन्त्रीले बताएका छन्। उत्तरे लगायत मानेबुङ देन्तामका अन्य गाउँका लगभग ८२ परिवार प्रभावित बनेका छन्।

यस क्षेत्रमा अझ धेरै क्षति भएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै मुख्यमन्त्रीले जिल्ला आपदा प्रबन्धन प्राधिकरण र जिल्ला प्रशासनलाई थप सर्नेक्षण गर्न निर्देश दिएका छन् भने पार्टी कार्यकर्तालाई आपदाकालिन अवस्थामा सहयोग गर्न तयार रहन आग्रह गरेका छन्। यस बाहेक पार्टीको जन योद्धा टोली पनि गाउँमा सक्रिय रहनुपर्ने मुख्यमन्त्रीले आग्रह गरे। गेजिङ जिल्लाकी जिल्लापालले क्षतिबारे आँकलनको काम भइरहेको जानकारी दिएकी छन्। १८ जूनको बिहान गएको पैह्रोले मानेबुङ देन्ताम निर्वाचन क्षेत्रको उत्तरे नजिकमा व्यापक क्षति भएको छ भने रिम्बीमा एक ९० वर्षिय व्यक्तिको निधन भएको छ। यस दिनको भल पैह्रोले सोरेङ तथा गेजिङ जिल्ला अत्याधिक प्रभावित बनेको छ। भल पैह्रोले कुनाबार प्राथमिक विद्यालयलाई पनि क्षति पुऱ्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement