कालचिनीः आगामी २२, २३ र २४ जुनको दिनसम्म कलकत्ता साईमा सम्पन्न हुने प्यारा ओलम्पिक ब्याडमिन्टन खेलमा सहभागी बन्न कालचिनी खण्डको साताली चियाबारी निवासी तथा समाजसेवी पिता मोहन विश्वको दिव्याङ्ग छोरा शुभम विश्वकर्मा बुधबार कलकत्ता पुगे। दिव्याङ्ग शुभम विश्वकर्माको पिता मोहन विश्वले बताए अनुसार छोरा दुर्घटनामा परेर विकलाङ्ग बनेको यद्यपि छोराले व्हील चेयरमा बसेर ब्याडमिन्टन अभ्याश गर्ने क्रममा गत केही महीना अघि पनि लखनऊमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा क्वार्टर फाइनलसम्म खेलेर घर फर्किएको थियो। यता कलकत्ता साईमा सम्पन्न हुन लागेको प्यारा ओलम्पिक खेलमा पनि छोरा शुभम विश्वकर्मा सहभागी बन्न जाने इच्छा गरेपछि छोरालाई कालचिनी खण्ड दिव्याङ्ग संघको सचिव विवेक कामीले अलिपुरद्वार जिल्ला शासकसित भेटाएर वार्तालाप गरेपछि जिल्ला शासक सुरेन्द्र कुमार मीणाले कलकत्ता जान र आउन एसी टिकटको व्यवस्था गरी दिएको पिता मोहन विश्वले जनाएका छन्।
जिल्ला शासक सुरेन्द्र कुमार मीणाले छोराको दिव्याङ्ग शुभम विश्वकर्माको इच्छाशक्ति हेरेर प्रभावित बनेको र जे जस्तो मदत गर्न सकिन्छ त्यो गर्ने आश्वासन समेत दिएको बताईएको छ। दिव्याङ्ग बनेर मन सानो गर्नु नहुने बरु इच्छाशक्ति र सकारात्मक सोँच लिएर अघि बढ़े जीवन रमाईलो बन्ने कुरालाई आत्मसात गरेर दिव्याङ्ग शुभम विश्वकर्माले व्हील चेयरमा बसेर राज्य र राष्ट्रिय स्तरको ब्याडमिन्टन खेलमा सहभागी बन्न सक्षम भएको छ। पिता मोहन विश्वले छोरालाई सबैको सार्थक सहयोग प्राप्त भए अवश्यै गाउँघर मात्र नभएर ब्लक, जिल्ला र राज्यको सुनाम गर्ने विस्वास रहेको थप जनाएका छन्।









