खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नारी शक्तिकी एक सक्रिय कार्यकर्ता तथा खरसाङ महकुमा समिति सदस्य कला छेत्रीले पनि आफ्नो पार्टी छोड्दै खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतको कोदोबारी, फूलबारी, चेप्टे, कैलापानी बुथबाट निर्दलीय प्रार्थीको रूपमा खडा भएका महेन्द्र शर्मालाई सहयोग गर्ने निर्णय लिएकी छन्। तिनले यसपालीको पञ्चायत चुनाउमा पार्टीको माथिल्लो स्तरका नेतृत्वहरूले स्थानीय नेतृत्वहरूलाई पत्तो नदिइ केवल केही व्यक्तिहरूको गोप्य निर्णयमा पार्टीको टिकट दिएकोमा आफूहरू असन्तुष्ट बनेको जनाउँदै यतिका वर्षसम्म आफूहरूले पार्टीमा दिलोज्यान दिएर खटे तापनि अन्तमा आएर त्यसको कुनै मूल्याङ्कन नगरेको जनाइन्। छेत्रीले पार्टीले कुनै पनि काम गर्दा सबैसित सरसल्लाह गर्नुपर्छ तर यहाँ त्यस्तो कहिले भएन भन्दै अघिका दिनमा पनि यहाँ पार्टी बिग्रिनुको मुख्य कारण माथिल्लो स्तरबाट नै रहेको जनाइन्। तिनले यस क्षेत्रमा पार्टी खुबै सक्रिय थियो तर पार्टीको माथिल्लो स्तरबाट नै यहाँका सक्रिय कार्यकर्ताहरूलाई बिनादोष श्रमिक सङ्गठनबाट निकाल्ने कार्य भयो त्यसपछि ती भाइहरू विपक्षी बनेर बसे। यस्तो अवस्था भइरहेको समय यसपाली फेरि केवल आठ-दश जनाको एउटा झुण्डको युवाहरूको गोप्य निर्णयको फलस्वरुप कसैको सल्लाह बिनानै पार्टीले गलत निर्णय लिएको फलस्वरुप आज तिनीहरू यसरी पार्टीबाट अलग भएको बताइन्।










