गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले गरिरहेको जनता भेट कार्यक्रमलाई लिएर एसडीएफ अध्यक्ष पवन चामलिङले गरेको टिप्पणीप्रति एसकेएम पार्टीले प्रतिक्रिया दिएको छ। एसकेएमले चामलिङको बयानलाई डाहा र आह्रिसको संज्ञा दिएको छ।
एसकेएम प्रचार प्रसार उपाध्यक्ष बिरेन्द्र तामलिङले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, ‘चामलिङले चुनाउ छेकमा मुख्यमन्त्रीले जनता भेटेको कुरा गरेर आफ्नो आहि््सपना उदाङ्गो गरेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो-आज मात्र होइन विगत वर्षहरूमा पनि जनता भेट कार्यक्रम गरेर जनताको गुनासो सुन्ने र समाधान गर्ने काम गर्दै आइरहनुभएको छ।’
उनले भनेका छन्, ‘जनता भेट कार्यक्रम एसकेएम पार्टी र मुख्यमन्त्रीको ग्रामीण एवं तृणमूल स्तरका जनतासँग सोझो भेटघाट गरी उनीहरूको समस्या र गुनासो निवारण गर्ने सहज बाटो हो। जति पनि समष्टिमा मुख्यमन्त्रीले जनता भेटेर समस्याको समाधान गर्नुभएको छ, ती जम्मै समष्टिका जनताले मुख्यमन्त्रीप्रति आभार जनाएका छन्।’
पवन चामलिङले जनता भेट कार्यक्रमको विरोध गर्नु भनेको सोझै जनताको बिरोध गर्नु हो भनी उनले बताएका छन्। उनले अझ भनेका छन्, ‘२५ वर्षको आफ्नो सत्ताकालमा जनतालाई पर-राख्ने, खस्रो बोलीले जनताको मन खिन्न बनाउने चामलिङले एकैपल्ट जनता भेट्न नचाहेको ती नै जनताले बताइरहेका छन्। पवन चामलिङले आज पनि जनताप्रति पहिलाकै जस्तो तिरस्कारपूर्ण नजरले हेर्ने गरेको प्रमाण उनी आफैंले दिएका छन्।’
-हिस