कञ्चनजङ्घा कलम पुरस्कार राजेन्द्र प्रधान अनि लगनशील युवा पत्रकार पुरस्कार इसाबेला गुरुङलाई प्रदान गरिने

photocollage_2023619182543588.jpg

गान्तोक: प्रेस क्लब अफ् सिक्किमले कञ्चनजङ्घा कलम पुरस्कार २०२३ द्वारा राजेन्द्र प्रधानलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। आउँदो महिना १७ जुलाईमा दिन प्रेस क्लब अफ् सिक्किमको २१औं स्थापना दिवसको समारोहमा राजेन्द्र प्रधानलाई कञ्चनजङ्घा कलम पुरस्कार २०२३ द्वारा पुरस्कृत गरिनेछ। सिलगढीबाट प्रकाशित हुने ‘आजभोलि’ समाचार पत्रबाट सन् १९९६ देखि पत्रकारिता शुरु गरेका राजेन्द्र प्रधान हालमा गान्तोकबाट प्रकाशित हुने हिमाली बेला दैनिक समाचार पत्रमा एसोसिएट एडिटरका रूपमा कार्यरत छन्। उनले लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा दिएको योगदानलाई कदर गर्दै प्रेस क्लब अफ् सिक्किमले कञ्चनजङ्घा कलम पुरस्कार २०२३ अलङ्करण गर्ने निर्णय गरेको हो।

प्रेस क्लब अफ् सिक्किमले स्थापना दिवसको अवसरमा एक जना युवा पत्रकारलाई लगनशील युवा पत्रकार पुरस्कार प्रदान गर्ने चलन गत वर्षदेखि स्थापना गरेको थियो। यसैलाई निरन्तरता दिंदै लगनशील युवा पत्रकार पुरस्कार २०२३ सिक्किम एक्सप्रेस अंग्रेजी दैनिककी गान्तोक संवाददाता इसाबेला गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ। सिक्किमेली पत्रकारिता क्षेत्रमा दीर्घकालिन सेवा पुऱ्याउने व्यक्तित्वको सेवालाई ध्यानमा राखेर प्रेस क्लबले स्थापना दिवसको अवसरमा यस वर्ष वरिष्ठ नारी पत्रकार राधा प्रधानलाई सम्मान जनाउने निर्णय गरेको छ। सन् १९८० देखि सिक्किम दर्शन नामक साप्ताहिक समाचार पत्र नियमित रूपमा प्रकाशित गर्दै आएकी राधा प्रधानलाई विशिष्ठ पत्रकार सेवा सम्मान जनाइनेछ।

नियमित रूपमा प्रदान गरिँदै आएको पुरस्कार र सम्मान बाहेक प्रेस क्लब अफ् सिक्किमले यस वर्षदेखि पत्रकारिता क्षेत्रदेखि बाहिर रहेर सिक्किमको विविध क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएका दुईजना व्यक्तित्वलाई स्थापना दिवसको अवसरमा सम्मान जनाउने निर्णय गरेको छ। यसै वर्षदेखि शुरु गरिने यो सम्मान सिक्किममा चेस खेलको विकास र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएका महेन्द्र ढकाल र पर्यावरण साथै वन्यजीव संरक्षण र फोहोर प्रवन्धनको क्षेत्रमा विशिष्ट योगदान दिँदै आएकी प्रियदर्शनी श्रेष्ठलाई दिइनेछ।

महेन्द्र ढकालले सिक्किममा चेस खेलको विकास र प्रवर्धनका लागि विशेष योगदान दिएका छन् भने उनले आफ्नो प्रयासलाई निरन्तरता पनि दिएका छन्। प्रियदर्शनी श्रेष्ठले डब्ल्यूडब्ल्यूएफ इण्डियाअन्तर्गत उत्तर बङ्गाल-सिक्किममा टिम लिडरको रूपमा आफ्नो क्षेत्रमा योगदान पुऱ्याइरहेकी छन्। सबै पुरस्कार र सम्मान गरिने व्यक्तित्वहरूको नाम प्रेस क्लब अफ् सिक्किमको आज सोमबार बसेको कार्यकारी समितिको बैठकले पारित गरेको प्रेस क्लब अफ् सिक्किमले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement