नियुक्ति भ्रष्टाचार मामिला आज हुनेछ सबै आरोपितहरूको पेशी

00-1-Rajya-Samachar-7

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचारको मामिलामा पक्रा परेका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जी लगायत अन्य आरोपितहरूलाई आज, सोमवार एकपल्ट फेरि कोर्टमा पेश गरिने छ। अलीपुरको विशेष सीबीआई कोर्टमा मामिलाको सुनवाई चलिरहेको छ।

केन्द्रिय एजेन्सीका सूत्रहरू अनुसार, आज पार्थ च्याटर्जी, उनकी महिला मित्र अर्पिता मुखर्जीलाई कोर्टमा पेश गरिने छ। दुवै प्रेसिडेन्सी सेण्ट्रल जेलमा बन्द छन्। पार्थ च्याटर्जीका अधिवक्ताले आज फेरि उनको जमानतको निम्ति अर्जी चढाउने बताइएको छ।

पार्थका साथै नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका मिडल म्यान शान्तनु ब्यानर्जी र अयन शीललाई पनि कोर्टमा पेश गरिने छ। यस अतिरिक्त, यस मामिलामा पक्रा परेका प्राथमिक शिक्षा परिषदका पूर्व अध्यक्ष माणिक भट्टाचार्य, उनकी पत्नी र छोरालाई पनि कोर्टमा पेश गरिने छ।

सीबीआई सूत्रहरू अनुसार, सबैलाई एकपल्ट फेरि हिरासतमा लिनका लागि अर्जी चढाइने छ। पक्रा पर्ने व्यक्तिहरूले सोधपुछमा सन्तोषजनक सहयोग नगरेको सीबीआई सूत्रहरूको भनाई छ।

-हिस

About Author

Advertisement