१९ जूनः स्पेनले लगभग एक दशकपछि यूएफा नेशन्स लीगको रूपमा कुनै ठूलो खिताब जित्यो। स्पेनिश टीमले आइतवार राति खेलिएको नेशन्स लीगको फाइनलमा क्रोएशियालाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। स्पेनले यसअघि २०१२-मा यूरोपियन च्याम्पियनशीप (यूरो कप)-को खिताब जितेको थियो। त्यसपछि टीमले कुनै प्रमुख खिताब जित्न सकेको थिएन। गत वर्ष भएको फिफा वर्ल्ड कपमा पनि मोरक्को विरुद्ध पराजित भएर टीम राउण्ड अव् सिक्स्टीन-बाट बाहिर भएको थियो। यसपाली चाहिँ स्पेनिश टीमले लड़ाकू प्रदर्शन गर्दै नेशन्स लीगको खिताब जित्यो।
फेयेनूर्ड स्टेडियममा यी दुई टीमबीच नियमित समयको खेल अनि अतिरिक्त समयको खेलमा पनि कुनै गोल हुन सकेन। म्याचमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनिश टीमले लगातार दबाउ सृष्टि गरे पनि गोल हुन सकेन। त्यसपछि पेनल्टी शूटआउटमा स्पेनका गोलकीपर उनाई सिमोन नायक बने। उनले पेनल्टी शूटआउटमा क्रोएशियाई खेलाड़ी लोवरो माहेर र ब्रूनो पेट्कोविचको प्रयासलाई रोके। यसअघि खेलिएको म्याचमा इटलीले नीदरल्याण्ड्सलाई ३-२-ले पराजित गरी प्रतियोगितामा तेस्रो स्थान हासिल गऱ्यो।









