गान्तोक। राज्यको आवकारी विभाग, स्वास्थ्य विभाग र नार्कोटिक डिभिजनको संयुक्त पहलमा आज पाकिम बजारस्थित ग्राम प्रशासनिक केन्द्रमा नशालु पदार्थको दुरूपयोग र अवैध कारोबारविरूद्ध अन्तराष्ट्रीय दिवस पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा विधायक एवम आवकारी विभागका सल्लाहकार एम प्रसाद शर्मा रहेका थिए भने विशिष्ट अतिथिमा विभागका अध्यक्ष गाजा भोटिया उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक शर्माले पाकिम जिल्लालाई ड्रग्समुक्त बनाउने दिशामा विभिन्न योजना तयार गरिरहेको बताए। वर्तमान सरकार नशालु पदार्थको बढदो क्रियाकलापप्रति चिन्तित रहेको हुनाले नशालु पदार्थ सेवनकर्ताहरूलाई मूलधारमा ल्याउन प्रयास भइरहेको अवगत गराए। नशालु पदार्थ विरूद्धको अभियान राजनीतिक पार्टी र सरकारले मात्र सञ्चालन गरेर सम्भवन नरहेको हुनाले यसमा बुद्धिजीवि, गैर सरकारी संस्थाले पनि सक्रियरूपमा सहभागिता जनाउनु पर्ने विधायकले आग्रह गरे। हालसम्म पाकिममा नशालु पदार्थको धन्दा र सेवनकर्ताहरू बेसी मात्रमा नफैलिएको जानकारी गराउँदै अहिलेदेखि नै यस विषयमा पहल शुरू गर्न सकेको खण्डमा पाकिम जिल्लालाई ड्रग्समुक्त बनाउन सहज हुने मन्तव्य प्रकट गरे।
यसै क्रममा विभागका अध्यक्ष गाजा भोटियाले युवाहरूले ड्रग्सको सेवन गर्दै आइरहेको कुरालाई स्वीकार्दै उनीहरूलाई परामर्श दिन सकेमा अवश्य पनि मूलबाटोमा फर्काइल्याउन सकिने सम्भावना व्यक्त गरे। युवाहरूको भविष्यलाई ध्यानमा राखेर सबैले सक्रियरूपमा पहल गरेमा अवश्य पनि राज्यका युवाहरूले नयाँ जिउन पाउन सक्ने उनले मन्तव्य प्रकट गरे। सोही प्रकारले आफ्नो सम्बोधनको क्रममा डाक्टर सतिश रसाइलीले वर्तमान परिपेक्ष्यमा ड्रग्स शहरदेखि गाउँसम्म पुगेको बताए।ड्रग्ससँग आत्महत्याको सोझो सम्वन्ध रहेको डाक्टर उनको भनाइ रहेको छ। वर्तमान युवाहरूले विभिन्न प्रकारको नशालु पदार्थको सेवन गर्दै आइरहेका छन्, जसमा सबै भन्दा महँगो ब्राउन सुगर रहेको छ। ब्राउन सुगर सेवनकर्ताहरूले विशेष गरेर आर्थिक समस्या भोग्नु परिरहेको उनले खुलासा गरे। नशालु पदार्थ सेवनकर्ताहरूले नशालु पदार्थ किन्ने पैसा नभएपछि अपराधसमेत गर्न पछि पर्ने डाक्टर रसाइलीको भनाइ रहेको छ। ब्राउन सुगरको धन्दा हुने ठाउँमा आपराधिक गतिविधि अधिक हुने गरेको उनले किटान गरे। ड्रग्स सेवनकर्ताहरू अपराधी नरहेको र यो एक रोग भएको कारण उनीहरूलई उपचारको माध्यमद्वारा मूलबाटोमा ल्याउन सकिने किटान गरे।
यस अवसरमा मोटिभेशनल स्पिकर प्रिमुश भोटियाले पनि आफ्नो अनुभव बाँडेका थिए भने कार्यक्रममा रिनाक विद्यालयका विद्यार्थीहरूले नशालु पदार्थ सम्वन्धि सचेतना नाटक पनि मञ्चन गरेका थिए।










