१९ जूनः ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले हिरो इण्टरकण्टिनेण्टल कप च्याम्पियन भारतीय फूटबल टीमलाई एक करोड़ रुपियाँको पुरस्कार दिने घोषणा गरे। भारतीय फूटबल टीमले आइतवार भुवनेश्वरको कलिंगा स्टेडियममा खेलिएको फाइनलमा लेबनानलाई २-०-ले पराजित गरी ट्रफी जित्यो। म्याचमा भारतीय कप्तान सुनिल छेत्रीले ४६औं र एल. छांगटेले ६४औं मिनटमा गोल गरे।

खेलकुदलाई सदा प्रोत्साहित गर्ने मुख्यमन्त्री पटनायकले टुर्नामेण्टको समापन समारोहलाई सम्बोधित गर्दै भने, यस प्रतिष्ठित इण्टरकण्टिनेण्टल कप टुर्नामेण्टको आयोजन गर्नु हाम्रो राज्यको निम्ति गर्वको कुरा हो। कड़ा प्रतिस्पर्धाबीच यस जीतको निम्ति भारतीय टीमलाई बधाई। हाम्रो लक्ष्य राज्यमा अझ अधिक फूटबल प्रतियोगिताको आयोजन गर्ने रहेको छ। उल्लेखनीय छ, भारतको इण्टरकण्टिनेण्टल कपमा यो दोस्रो खिताब हो।

भारतले यसअघि २०१८-मा पनि ट्रफी जितेको थियो। साल २०१९ पछि कोरोना महामारीले गर्दा टुर्नामेण्टको आयोजन हुन सकेन। टुर्नामेण्टको गत संस्करणमा उत्तर कोरिया च्याम्पियन भएको थियो।