२६ जूनः पर्यावरण संरक्षणमा निरन्तर कार्य गर्ने गैर सरकारी संगठन (एनजीओ) शेभ अर्थ फर लाइफको तत्त्वावधानमा आयोजित दुईदिने मनसून ट्रफी फूटबल टुर्नामेण्टमा युनाइटेड सिक्किम फूटबल क्लब च्याम्पियन भयो। सालबारीको अम्बरधुरा खेल मैदानमा भएको यस सेभेन ए साइड टुर्नामेण्टको फाइनलमा आइतवार युनाइटेड सिक्किम एफसीले काखिम एफसी (प्रधान नगर)-लाई २-०-ले पराजित गऱ्यो। जम्मा १६ वटा टीमले हिस्सा लिएको यस टुर्नामेण्टको फाइनलमा विजेता टीमबाट बिक्की दर्जी र अतुल तामाङले गोल गरे। फाइनलमा च्याम्पियन हुने टीमलाई अशोक तामाङ स्मृति विनर्स ट्रफीको साथमा ३० हजार र रनरअप् टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसबाहेक व्यक्तिगत पुरस्कारहरूमा च्याम्पियन टीमका सौरभ तामाङले प्लेयर अव् द म्याच (फाइनल), सालबारी एफसीका रिवाज थापाले सर्वश्रेष्ठ गोलकीपर, बिक्की दर्जीले प्लेयर अव् द टुर्नामेण्ट र करण राईले सर्वाधिक गोलदाताको पुरस्कार जिते। यसबाहेक फाइनलमा पहिलो गोल गर्ने बिक्की दर्जीलाई विशेष नगद पुरस्कार पनि प्रदान गरियो। टुर्नामेण्टका शुरुवाती म्याचहरू शनिवार भएको थियो भने आइतवार चारवटा क्वार्टर फाइनल, दुईवटा सेमिफाइनल र फाइनल खेलियो। फाइनलमा अतिथिको रूपमा समाजसेवी बब एण्ड्रू शेर्पा र समीर तामाङ (च्याम्पियन ट्रफी डोनर) उपस्थित थिए। यस अवसरमा शेभ अर्थ फर लाइफ-को तर्फबाट स्माइल तामाङले समस्त अंशग्रहणकारी टीमहरूलाई धन्यवाद जनाए।









