नयाँ दिल्ली: एक दिवसीय विश्वकप क्रिकेट भारतको आयोजनामा हुनेभएको छ। यसको कार्यतालिका भने अझै सार्वजनिक भएको छैन। यसैबीच आईसीसीले आइतबार फ्यानका लागि विशेष घोषणा गरेको छ। भारतमा हुने यो विश्व प्रतियोगिता अक्टोबर–नोभेम्बरमा हुने सम्भावना छ। अहिले विश्वकप–२०२३ छनोटका खेलहरू मुख्य राउण्डमा प्रवेशका लागि खेलाइँदै छन्। उनीहरु १८ जूनदेखि ९ जुलाईसम्म जिम्बाब्वेमा आयोजना हुनेछन्। छनोटको पहिलो खेल नेपाल र जिम्बाब्वेबीच हुनेछ। विश्वकप छनोटमा कुल १० टोलीको सहभागिता रहनेछ जसबाट दुई टोली विश्वकपको मुख्य राउण्डमा पुग्नेछन्।
यसैबीच आइतबार आईसीसीले ट्विटरमा एक पोस्ट सेयर गरेको छ, जसका कारण फ्यानहरु खुसी हुन सक्छन्। आईसीसी विश्वकपको ट्वीटर पेजमा एक पोस्ट सेयर गरिएको छ, जसमा प्रतियोगिताको पूर्ण तालिका छिट्टै सार्वजनिक गर्न सकिने लेखिएको छ। यसैबीच, इनसाइड स्पोर्टको एक रिपोर्टले आगामी हप्तामा विश्वकपको तालिका सार्वजनिक गर्नसक्ने जनाएको छ। बीसीसीआईले गत हप्ता लण्डनमा भएको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल बैठकमा आईसीसीलाई मस्यौदा पेश गरेको थियो। यसमा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धाको बारेमा पनि कुराकानी भएको थियो। १५ अक्टोबरमा भारत र पाकिस्तानबीचको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने बताइएको छ। तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) यसबाट असन्तुष्ट छ, जसका कारण अन्तिम तालिका सार्वजनिक गर्न ढिलाइ भएको छ।











