गान्तोकः नेपाली साहित्य परिषद् सिक्किमको तत्त्वावधानमा आयोजन गरिने आदिकवि भानुभक्त आचार्यको 209 औँ जन्मजयन्तीलाई लिएर शनिवार समारोह समितिको एउटा महत्त्वपूर्ण बैठक गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा परिषद् भवनमा सम्पन्न भयो।
विभिन्न स्कूलका शिक्षक एवम् जातगोष्ठी संस्थाहरूका प्रतिनिधिहरूलाई लिएर आयोजन गरिएको बैठकमा भानु जयन्ती समारोहका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूबारे विस्तृत चर्चा परिचर्चा गरियो। बैठकमा विशेषतः सांस्कृतिक एवम् साहित्यिक प्रतियोगितात्मक कार्यक्रमलाई लिएर गान्तोक वरपरका विभिन्न सरकारी एवम् निजी विद्यालयका शिक्षकहरूले आ-आफ्नो सल्लाह र सुझाउ राखे। परिषद्का अध्यक्ष हरि ढुङ्गेलले यस वर्ष केही भिन्नै अनि भव्य रूपमा भानु जयन्ती समारोह पालन गरिने भएको उल्लेख गर्दै सबैको परामर्श र सहयोग मागे। भानु जयन्तीको शोभायात्रामा निकालिने साँस्कृतिक झाँकीसँगै रामायण पाठ र कविता पाठ प्रतियोगिताबारे राखेका जिज्ञासा र सुझाउहरूमाथि चर्चा गरिएपछि आगामी ८ र ९ जुलाईमा रामायण पाठ र कविता प्रतियोगिता राखिने बैठकमा निर्णय भएको छ।
रामायण पाठ र कविता पाठ प्रतियोगिता अन्तरविद्यालय र खुल्ला रूपमा राखिनेछ। आगामी 5 जुलाईसम्म कविता वाचनमा अंशग्रहण गर्ने चाहने प्रतियोगीहरूले आ-आफ्नो कविता साहित्य परिषद्मा पठाइसक्नुपर्नेछ। स्कुलका शिक्षकहरूबाट वाक पटुता प्रतियोगिताको पनि आयोजन गर्नुपर्ने अनि शोभायात्रामा पारम्परिक खुकुरी नाचको आयोजन गर्नुपर्ने पनि प्रस्ताव आएको छ। यसबारे परिषद्ले विचार-विमर्ष गरेर निर्णय लिनेछ। अध्यक्ष हरि ढुङ्गेलले सबैको सुझाउ र परामर्शलाई ध्यानमा राखेर यसपल्टको भानु जयन्तीलाई भव्यतापूर्वक पालन गरिने बताएका छन्। उनले समारोह समितिलाई सही मार्गदर्शन गराउन सल्लाहकार समिति गठन गरिएको जानकारी गराए। सल्लाहकार समितिमा पद्मश्री सानु लामा, साहित्यकार एसआर सुब्बा, साहित्यकार प्रद्युम्न श्रेष्ठ, पूर्व विधायक डीबी ठटाल र डा. एसके राईलाई चयन गरिएको छ। समारोह समितिका उपाध्यक्ष एवम् गान्तोक जिल्लाका जिल्लाअध्यक्ष बलराम अधिकारीले यसपल्ट केही भिन्नै र आकर्षक एवम् सन्देशवाहक कार्यक्रमहरूका साथ भानु जयन्तीलाई सफल बनाउन सबै सिक्किमेली समुदाय एक भइदिन आग्रह गरेका छन्। “हाम्रो अस्तीत्त्वः हाम्रो चिनारी” नाराका साथ पालन गरिने भानु जयन्तीलाई लिएर शनिवार बसेको बैठकमा समारोह समितिका सल्लाहकार एसके राई, परिषद्का उपाध्यक्ष नवीन लामिछाने, महासचिव निलम न्यौपाने, कार्यालय सचिव चन्द्र दुलाल, साहित्य सचिव भीम राउतले विभिन्न विषयमाथि जानकारी गराए।