प्रभात पाठक, चन्द्रलेखा गुरुङ मणिराज राई अनि एमएस खान पनि हुनेछन् सम्मानित
गान्तोकः गोर्खे खबर कागतका सम्पादक आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको १७२औँ जन्म जयन्तीमा ६ वटा विधामा विभिन्न व्यक्तित्त्व एवम् संस्थानलाई गङ्गाप्रसाद स्मृति सम्मानद्वारा सम्मानित गरिने भएको छ। पादरी गङ्गा प्रसाद स्मृति प्रतिष्ठान सिक्किमले शिक्षण क्षेत्रमा विशिष्ट योगदान दिइरहेको दक्षिण सिक्किमको नामथाङ खण्ड प्रशासनिक क्षेत्रअन्तर्गत ताङ्जी सरकारी प्राथमिक पाठशालालाई पादरी गङ्गाप्रसाद शिक्षा सम्मानले विभूषित गर्ने निर्णय लिएको छ। साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाइरहेका एक लगनशील साधक एमएस खानलाई प्रतिष्ठानले साहित्य सम्मान अनि लिन्दोकको रेन्बो चिल्ड्रेन्स होमकी सञ्चालिका चन्द्रलेखा गुरुङलाई सामाजिक सेवा सम्मानले विभूषित गर्नेछ। लोक सङ्गीत एवम् कलाको क्षेत्रमा योगदान दिइरहेको सोफियम ब्याण्डलाई अनि पत्रकारितामा योगदान पुऱ्याउने सिलगढीका वरिष्ठ पत्रकार प्रभात पाठकलाई सम्मानित गरिनेछ। यसैगरी आध्यात्मिक क्षेत्रलाई पनि समेट्दै प्रतिष्ठानले पादरी मणिराज राई(कलेज माइला)-लाई सम्मानित गर्ने भएको छ।
शनिवार गान्तोकमा प्रतिष्ठानका अध्यक्ष कमल चामलिङको अध्यक्षतामा बसेको बैठकमा छ वटा सम्मानलाई अनुमोदन गरिएको छ। बैठकमा आदि पत्रकार जयन्तीको तयारीबारे विस्तृत रूपमा छलफल गरियो। नाट्यभूषण सीके श्रेष्ठको मुख्य आतिथ्यमा आयोजन गरिने यस समारोहलाई समावेशी बनाउनुपर्ने विषयमा उपस्थित सबैले जोड दिए। प्रतिष्ठानका प्रमुख सल्लाहकार किरण रसाइलीले कार्यक्रम सफल बन्ने आशा व्यक्त गर्दै सबैलाई आ-आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। बैठकमा प्रतिष्ठानका अध्यक्ष कमल चामलिङ, उपाध्यक्ष एल्डर पत्रूस गुरुङ, महासचिव भीम रावत, मुख्य समन्वयक पास्टर सिलास राई, कोषाध्यक्ष पास्टर रिङ्कू लेप्चा, कार्यकारी सदस्य प्रवीण खालिङ, समन्वयक नोएल राणा र सह सचिव अरुण छेत्रीले कार्यक्रम तयारीमाथि प्रकाश पारेका थिए। पूर्व सिक्किमको माझीटारस्थित जोशुवा अडिटोरियममा आगामी ४ जुलाईका दिन आयोजन गरिने आदि पत्रकार जयन्तीमा सिक्किमका विभिन्न सङ्घ-संस्थान एवम् चर्चका प्रतिनिधिहरूको भव्य उपस्थिति हुने बताइएको छ।