गुवाहाटी: असम समेत सम्पूर्ण पूर्वोत्तर र छिमेकी देश भुटानमा बितेको एक सप्ताहदेखि लगातार परिरहेको पानीले असमका १३ वटा जिल्लाहरू बाढ़ीद्वारा प्रभावित भएका छन्। कतिपय नदीहरूमा बाँध भत्किएको छ। सड़कहरूलाई पनि क्षति पुगेको छ।
असम राज्य आपदा प्रबन्धन विभागले जानकारी गराए अनुसार राज्यका १३ जिल्लाहरूमा बाढ़ी आएको छ भने तीनवटा नदीहरू तीन स्थानमा जोखिमको चिन्हदेखि माथि बगिरहेका छन् जसमा पुठीमारी नदी (एनएच रोड क्रसिङ), कपिली नदी (कामपुर) र ब्रह्मपुत्र (नेमातीघाट) सामेल छन्। नगाउँ जिल्लाको कामपुर क्षेत्रमा पनि बाढ़को स्थितिमा सुधार आएको छैन। कामपुरको गोसाई गाउँमा कपिली नदीको पानीले प्रेमजान बाँधलाई भत्काइदिएको कारणले नयाँ-नयाँ ठाउँमा बाढ़ी आएको छ। हजारौं बिघा कृषि पानीमा डुबेको छ। केकुरीबारीमा पानी सड़कमा बगिरहेको छ जसले गर्दा सड़कको अधिकांश भाग बगिसकेको छ।
असम राज्य आपदा प्रबन्धन विभागद्वारा गए शनिवार साँझ जारी आँकड़ा अऩुसार बाढ़ प्रभावित १३ वटा जिल्लहरू र अनुमण्डलहरूमा बिश्वनाथ, दरंग, धेमाजी, डिब्रूगढ़, होजाई, लखीमपुर, नगाउँ, शोणितपुर, तिनसुकिया, उदालगुरी सहित कछार, कामरूप (मेट्रो) र नलबाड़ी जिल्लाका शहरी क्षेत्र सामेल छन्। बाढ़ीले २३ राजस्व सर्कलअन्तर्गत १४६ गाउँहरूका ३७५३५ मानिसहरू प्रभावित भएका छन् भने कुल १४०९.६५ हेक्टेयर फसल प्रभावित भएको छ।
बाढ़ प्रभावितहरूको लागि कुल १९ राहत शिविर स्थापना गरिएको छ भने १७ राहत वितरण केन्द्र खोलिएको छ। राहत शिविरमा अहिलेसम्ममा नौजना मात्र बसेका छन् जसमा चार पुरूष र पाँच महिला जसमा एकजना गर्भवती महिला सामेल छन्। बाढ़ले राज्यको कुल ४५४९२ पशुधन प्रभावित भएको छ। यसमा ठूलो पशुहरूको संख्या ३३४४००, सानाहरूको ११९८० तथा ११२ कुखुरा सामेल छन्।
बाढ़ प्रभावित क्षेत्रहरूमा बचाउ अभियानको लागि एसडीआरएफको एउटा नौका तथा तीन मेडिकल टीमे तैनाथ गरिएको छ। आज बाढ़ प्रभावितहरूलाई खाद्य सामग्री वितरण गरियो जसमा ५२४.१४ क्विन्टल चामल, ९६.६० क्विन्टल दाल, २६.३७ क्विन्टल नून, २४७२.१४ लीटर तोरीको तेल, पशुहरूको लागि गहुँको चारो २२२.०० क्विन्टल, चामलको भूस ३०३.०० क्विन्टल सामेल छन्। -हिस










