तीनधारे महानदी समष्टिमा चुनाव शान्तीपूर्ण

५ जना प्रार्थीहरू चुनाव मैदानमा

खरसाङ: जीटीए चुनाव अन्तर्गत तीनधारे महानदी समष्टिमा पनि चुनाव शान्तीपूर्ण भएको छ। तीनधारे महानदी समष्टिको २२ वटै बुथहरूमा चुनाव शान्तीपूर्ण भएको जानकारी प्राप्त भएको छ। यस समष्टीको कुनै बुथतिर बिहान ईभीएम मशीनमा गडबढी देखिए पनि पछिबाट ठीक गरिएको र मतदान सुचारु रुपले गरिएको जानकारी प्राप्त भएको छ। तीनधारे महानदी समष्टिबाट यसपाली पाँचजना प्रार्थीहरूले चुनाव लड़िरहेका थिए। यसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्री, हाम्रो पार्टीको प्रार्थी रिन्जेन कुसाङ मोक्तान, र तीनजना निर्दलीय प्रार्थीहरू क्रमैले सुरेशचन्द्र दर्नाल, आईतमान राई र सत्यवान छेत्री रहेका छन्।

पाँचैजना प्रार्थीहरूले आफ्नो आफ्नो गाउँमा रहेको बुथतिर आफ्नो मतदानको प्रयोग गरेका थिए। पाँचैजनाले आफ्नो मतदानपछि जित्ने दाबी गरेका छन्। तीनधारे महानदी समष्टिको २२ वटै बुथहरूमा चुनाव शान्तीपूर्ण भएको थियो। तर पनि यसपालीको चुनावमा मानिसहरूमा अरु बेलाको चुनावमा जस्तो उत्सुकता भने थिएन। प्राय: जस्तो बुथहरूमा भीड़भाड़ देखिएन अनि मानिसहरू अलि अलि गर्दै आएर मतदान गरेको देखियो। दिउँसोको समय पनि मतदान केन्द्रमा तेति बेसी भीड़भाड़ देखिएको थिएन। तर पनि मानिसहरू आएर भोट भने हालेका छन्। तीनधारे महानदी समष्टिमा जम्मा १८५०० मतदाताहरू रहेको र यस समष्टीभित्र पर्ने २२ वटा बुथहरूमध्ये नयाँ कमानमा ७१.६ प्रतिशत, मालुटारमा ६७ प्रतिशत अनि सबैभन्दा कम्ती तीनधारेको शंकर निवासस्थित बीएम प्राथमिक पाठशालामा ४९ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ। समाचार लेखुञ्जेलसम्म तीनधारे महानदी समष्टिको २२ वटा बुथहरूको रिपोर्ट प्राप्त भएको छ भने समष्टीमा लगभग ५५ देखि ५८ प्रतिशत मतदान भएको हुने सम्भावना रहेको देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement