गान्तोकः पेग्योङको पैह्रोका कारण उत्तर सिक्किमको लाचेन, लाचुङ र चुङथाङमा थुनिएका पर्यटकलाई निकाल्ने पहल शुरु भएको छ। बिहिवार राति चुङ्थाङ नजिक पेग्योङका दुई स्थानमा पैह्रो झर्दा उत्तर सिक्किमको सीमावर्ती क्षेत्रलाई जोड्ने राष्ट्रिय राजमार्ग १० पूर्ण रूपले विच्छेद बनेको छ। लगातार वर्षाका कारण पैह्रो झर्ने क्रम नरोकिएकाले पर्यटकलाई पैदल यात्राको माध्यमबाट पैह्रो पार गराउने पहल शुरु गरिएको बताइएको छ।
यसका लागि उत्तर सिक्किमको राजमार्ग १० मा कार्यरत सीमा सडक सङ्गठनले पैह्रो झरेर विकट बनेका स्थानमा पर्यटकलाई पैदल यात्राद्वारा पार गराउन काठका सिंडी लगाउने काम गरेको छ। जानकारी अनुसार आज, शनिवार बिहानैदेखि पैदल यात्राको लागि बाटो खन्ने र आवश्यक स्थानमा सिंडी र काठे पुल बनाउने काम शुरु भएको थियो जो लगभग पूरा भएको छ। लगातार पापर परिरहेको भए पनि चुङथाङबाट पर्यटक निकाल्ने पहल आज बिहान ११ बजीदेखि शुरु भएको र आज बेलुकी सम्ममा थुनिएका सबै पर्यटकलाई निकाली सक्ने सीमा सडक सङ्गठनले जानकारी दिएको छ।
पेग्योङको पैह्रोले लाचेन र लाचुङमा गरी लगभग २१०० पर्यटक थुनिएका छन् जसमा विदेशी पर्यटकको सङ्ख्या ३६ रहेको छ भने अन्य सबै भारतीय पर्यटक रहेका छन्। विदेशी पर्यटक मध्ये २३ जना बङ्लादेशी, १० जना अमेरिकी र तीनजना सिङ्गापुरका रहेको बताइएको छ। यी सबै पर्यटक चुङथाङमा भेला भएका छन् जसलाई पालै-पालो पैह्रो पार गराउने योजना रहेको छ। पेग्योङको पैह्रोका कारण लगभग ३५८ पर्यटक वाहन पनि थुनिएका छन्।
-हिस