गान्तोक: उत्तर सिक्किमको चुङथाङमा गत १६ जुनको दिन परेको अत्याधिक वर्षाले गर्दा सडक विछिन्न भएपछि सिक्किम घुम्न आएका लगभग २००० भन्दा अधिक पर्यटकरू त्यहाँ नै फँसेका छन्। तथापि बीआरओ परियोजनाका कर्मचारीहरूले अधिक पानी पर्दाको समयमा रातभरि काम गरेर पनि सो सडकको मरमति कार्य गरेर अस्थायी रूपमा भए तापनि मानिसहरूलाई त्यहाँबाट निकाल्नको लागि बाटो बनाएदिएर पर्यटकहरूलाई सहयोग पुयाएको छ। प्राप्त जानकारी अनुसार आज शनिबार १७ जून अपरान्ह १२ बजेसम्म ३०० भन्दा अधिक संख्यामा पर्यटकहरूलाई त्यहाँबाट सकुशल उद्धार गरेको बताइएको छ। यसको साथै सडक मार्गको मरमति गरेर पुनः वाहनहरूको चलाचल सुचारू गर्नको लागि लगातार प्रयास जारी छ। यसको साथै उत्तर सिक्किम क्षेत्रमा फँसेका अन्य पर्यटकहरूलाई सकुशल फर्काउने क्रम पनि जारी रहेको छ अर्कोतिर, पर्यटकहरूले उक्त सडकको कार्यको लागि पहल गरिदिएकोमा बीआरओ का कर्मचारीहरू लगायत सम्बन्धित अधिकारीहरूलाई धन्यवाद दिएका छन्।

यसैगरी, उत्तर सिक्किमको लाचेन अनि लाचुङ, मंगन जिल्लामा पनि घुम्न आउने २,४७५ जना पर्यटकहरू फँसेका छन् भने जसमा ६० जना सिक्किम नाम्ची कलेजका विद्यार्थीहरू पनि रहेको जानकारी प्राप्त भएको छ। ती फँसेका विद्यार्थीहरू लगायत पर्यटकहरूलाई बीआरओका कर्मचारीहरूको सहयोगमा सकुशल उद्धार गर्ने कार्य राज्यका मुख्यमन्त्री पीएस गोलेको निर्देशमा लगातार जारी रहेको छ भने धेरैजना पर्यटकहरू अहिले त्यहाँबाट सकुशल आ-आफ्नो गन्तव्यतर्फ जान थालेको बताइएको छ।