गान्तोकः पर्यटकहरूको ट्याक्सी भाडा नियमितीकरण, अनलाइन परमिट प्रणाली, पर्यटन व्यवसायको सब्-लेटमा रोक, नथुला परमिट आदि जस्ता महत्वपूर्ण विषयहरूमाथि आज पर्यटन भवनमा एक समन्वय बैठक आयोजन गरियो। पर्यटन विभागका अतिरिक्त मुख्य सचिव एमएल श्रीवास्तवको अध्यक्षतामा बसेको बैठकमा पर्यटन विभाग, यातायात विभाग, पुलिस विभाग, एनआईसी तथा टास, एसएचआरए, एसयूटीओ, सीजेएसी, स्थानीय ट्याक्सी चालक संघ आदि उपस्थित थिए।
अतिरिक्त मुख्य सचिव श्रीवास्तवले बैठकमा दिइएका सुझाउहरू र प्रतिक्रियाहरूलाई सरकारको अनुमोदनपछि कार्य रूपमा उतार्ने बताए। उनले संशोधित ट्याक्सी भाडा अविलम्ब अधिसूचित गर्न अनुरोध गर्दै अपेक्षित लक्ष्य हासिल गर्न सबैलाई मिलेर काम गर्न आह्वान गरे। बैठकमा सबैले अत्याधिक ट्याक्सी भाडा लिने गरिएको कुरालाई स्वीकार गरे भने अविलम्ब आवश्यक कारबाहीको आवश्यकता महसुस गरे। बैठकमा ट्याक्सी भाडा नियमितीकरण, ट्याक्सी भाडा प्रदर्शित गर्नुपर्ने, पर्यटक ट्याक्सी भाडामाथि निगरानी राख्न संयुक्त कमिटी गठन, अनलाइन परमिट प्रणालीको सब्-लेट, नथुला पासको निम्ति अतिरिक्त शुल्क आदि जस्ता विषयहरूमाथि व्यापक छलफल गरिएको बताइएको छ।
-हिस