गान्तोक: आगामी २१ जूनदेखि यहाँको पाल्जोर स्टेडियममा प्रोबो सिक्किम प्रिमियर डिभिजन लीग फुटबल २०२३ आरम्भ हुनेछ। लीगका आयोजक सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले आज यहाँ एउटा पत्रकार सम्मेलन डाकेर यसको जानकारी दिएको छ। एसोसिएशनका अध्यक्ष मेनला इथेन्पाले जानकारी गराएअनुसार यसपल्टको लीगमा कूल आठवटा क्लबले खेल्नेछ जसमा सिक्किम हिमालयन स्पोर्टिङ क्लब, सिक्किम यूनिकर्न एफसी, बोइस क्लब, सिक्किम पुलिस एकादश एफसी, आक्रमण एफसी, साई नाम्ची, कुमार स्पोर्टिङ र यूनाइटेड सिक्किम एफसी रहेको छ। प्रिमियर लीगका विजेता क्लबले सोझै आइ-लीगमा स्थान पाउने उनले थप बताए।
कोभिड महामारीको कारण वर्ष २०१९ पछि पहिलोपल्ट आयोजन भइरहेको सिक्किम प्रिमियर लीग २०२३ धेरै अर्थमा विशेष रहेको छ। सर्वप्रथम त आयोजक पक्षले लीगका विजेता दलको नगद पुरस्कार ५० हजारदेखि बड़ाएर ३ लाख बनाएको छ। यसको साथै पहिलोपल्ट सिक्किम प्रिमियर लीगले स्पन्सर पाएको छ। खेलकुदसित सम्बन्धित संस्था प्रोबोले यसपल्टको सिक्किम प्रिमियर लीग २०२३लाई स्पन्सर गरेको छ भने प्रोबोकै अनलाइन च्यानल पेभिलियनले प्रिमियर लीगका सबै म्याचलाई सीधा अनलाइन प्रशारण गर्नेछ। यसको निम्ति पेभिलियनको एउटा टोली गान्तोक आइपुगेको छ।
एसएफका महासचिव फुर्वा शेर्पाले लीगको नियमावली बारे जानकारी गराउँदै बताएअनुसार प्रत्येक क्लबले कम्तीमा सातवटा म्याच खेल्नेछ। क्लबहरूको आर्थिक अवस्थालाई ध्यानमा राखेर एकोहोरो लीग खेलाइएको उनले बताए। आगामी दिनमा क्लबहरूको आर्थिक अवस्थामा सुधार आएको खण्डमा दोहोरो अर्थात दुईवटा क्लबबीच दुईवटा म्याच खेलाउने एसोसिएशनको योजना रहेको उनले थप बताए। यसरी नै एउटा क्लबले कूल २५ जना खेलाड़ीको नाम दिनुपर्ने जसमा पाँचजनासम्म गैरसिक्किमे खेलाड़ी रहनसक्ने शेर्पाले बताए। प्लेइङ इलेभेनमा भने तीनजना गैरसिक्किमे खेलाड़ीलाई उतार्न सकिने उनले बताए।