कोलकाताः पश्चिम बंगालको पञ्चायत चुनाउमाथि हिंसाको बादल मड़ारिन छोड़ेको छैन। चुनाउको मिति घोषणा भएदेखि यता फेरि एकजना नेताको हत्या गरिएको छ। ताजा हिंसामा गए बिहीवार राती मुशिर्दाबाद जिल्लाका अञ्चल अध्यक्ष मुज्जमल हक (४२)- लाई गोली ठोकी मारिएको छ। यो घटना नवग्राम थाना अन्तर्गत पञ्चग्राम क्षेत्रमा भएको हो। अज्ञात आक्रमणकारीहरूले तिनीमाथि दुईवटा गोली ठोकेका छन्। रगताम्मे अवस्थामा तिनलाई नवग्राम अस्पताल पुऱ्याउयो जहाँ चिकित्सकहरूले मृत घोषित गरिदिए। त्यै राती यसै क्षेत्रका कंग्रेस उम्मेद्वार रमजान शेखका पिता महरूल्ला शेखलाई पनि गोली ठोकिएको छ। तिनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।
तृणमूल नेताको हत्या गरेको आरोप कंग्रेस कार्यकर्ताहरूमाथि लगाइएको छ भने कंग्रेसले फायरिङको लागि तृणमूल कंग्रेसलाई आरोपी ठहर गरेको छ। क्षेत्रमा शुक्रवार बिहानदेखि नै ठूलो संख्यामा पुलिस जवानहरूलाई तैनाथ गरिएको छ। भनिन्छ, बिहीवार नामाङ्कन-पत्र दर्ता गराएपछि तृणमूलका अञ्चल अध्यक्ष मुजम्मल चुनाउको प्रचार गर्न गएका थिए। यसबीच केही मानिसहरूले उनलाई घेरेर कुटपिट गरे। विरोध गर्दा गोली ठोके। स्थानीय तृणमूल विधायक कन्हाईचन्द्र मण्डलले आरोप लगाए, कंग्रेसका मानिसहरूले पार्टी नेताको हत्या गरेका छन्। उनले घटनाको विरोधस्वरूप १२ घण्टा बन्दको आह्वान गरेका छन्। कंग्रेस प्रवक्ता जयन्त दासले भने, तृणमूल कंग्रेस डरको वातावरण सृजना गरेर चुनाउ जित्न चाहन्छ। कंग्रेस कार्यकर्ताहरूले आफ्नो ज्यान दिएर पनि लोकतन्त्रको रक्षा गर्नेछन्। आज प्रदेश कंग्रेस अध्यक्ष अधीर रञ्जन चौधरी पनि घटनास्थलमा आइपुगे।
-हिस