कालचिनी। आज सर्वत्र अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन भइरहेको क्रममा कालचिनी थाना अन्तर्गत राधारानी चियाबारीमा समाजसेवी पासाङ लामाको एकल आयोजनामा अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन गरियो। उक्त अवसरमा आज राधारानी लगायत चुवापाड़ा अनि तिनलाई भेट्न आउने शुभचिन्तक एवम् समर्थकहरूलाई लिएर समाजसेवी पासाङ लामाले नशा र ड्रग्स सेवन साथै यसको बेचबिखनको अवैद्य धन्धाले समाज नकरात्मक बाटोमा गईरहेकोले यो बढ़ी चिन्ताको विषय भएको बताएका छन्।
नशापान र ड्रग्स सेवनले युवा शक्तिहरू गलत मार्गमा हिँड़िरहेकोले यसलाई रोक्न केवल सरकार पुलिसमाथि मात्र निर्भर रहेर नहुने यसलाई हामी सबै मिलेर यसको उन्मूलन गर्नुपर्ने आह्वान गरेका थिए। आज ड्रग्सको कारण कलकलाउँदो उमेरको केटाहरूको ज्यान असमय गएको र यसले घर परिवार समाज साथै राज्य र देशको सर्वनाश भइरहेकोले यसलाई रोक्न सबै एकसाथ मिलेर काम गर्नु आवश्यक रहेको जनाएका छन्।










