दौसा: राजस्थानको दौसा जिल्लाको महुवा विधानसभा क्षेत्रको पाखर चौडकी गाउँमा धार्मिक कार्यक्रममा सामूहिक भोजपछि फूड पोइजन हुँदा ३०० जना बिरामी परेका छन्। सबैको अस्पतालमा उपचार चलिरहेछ। गम्भीर अवस्थामा एक पाँच वर्षीय नानीलाई उपचारको निम्ति दौसा जिल्ला अस्पताल रेफर गरिएको छ। अहिले यिनीहरूको स्वास्थ्यमा सुधार आएको बताइएको छ। चिकित्सा विभागले ब्लडको नमूना र भोजनको नमूना जाँचको निम्ति पठाएको छ।
मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा. सुभाष बिलोनियाअनुसार, पाखर चौडकी गाउँ निवासी महेन्द्र बैरवाको केही दिनअघि दिल्लीमा सेकेन्ड ग्रेड अध्यापकको पदमा सरकारी नौकरी लागेको थियो। नौकरी पाएको खुशीमा उनले बिहिवार गाउँमा सवामणीको धार्मिक कार्यक्रम गरी गाउँलेहरूलाई सामूहिक भोजको निम्ति आमन्त्रित गरे। मानिसहरूले लड्डू, पुरी र दाल बड़ा खाए। यसपछि उनीहरूलाई बान्ता र पेट दुःख्नु शुरू भयो। जसपछि लगभग १२० जनालाई मन्डावर र ८० जनालाई महुवा अस्पतालमा भर्ती गराइयो। रोगीहरूको संख्या धेरै भएकोले अस्पतालमा बेड कम भयो, मानिसहरूलाई जमीनमा बसाएर उपचार गराउन पऱ्यो।
फूड पोइजनको सूचनामा दौसाबाट सीएमएचओ डा. सुभाष बिलोनिया र स्थानीय विधायक ओमप्रकाश हुडला अबेर राति महुवा अस्पताल पुगे। चिकित्सा विभागको टीमले गाउँमा पुगेर रोगीहरूको उपचार शुरू गऱ्यो। सीएमएचओअनुसार, स्वामणी कार्यक्रमको सामूहिक भोजमा खाना खाँदा ३०० भन्दा धेरै अस्वस्थ भए। उपचारपछि सबैको स्वास्थ्यमा सुधार भएको छ। प्रारम्भिक जाँचमा दालको बड़ा खाँदा मानिसहरू अस्वस्थ भएको थाहा लागेको छ। -हिस