सिलगढी: अखिल बाङ्ग्ला तृणमूल शिक्षा बन्धु समिति र उत्तर बङ्गाल विश्वविद्यालय अस्थायी शिक्षा कर्मचारी एसोसिएसनले कन्ट्र्याक्चुअल अस्थायी कर्मचारीहरू नियुक्ति गरेकोमा विरोध जनाउँदै हडतालमा बसेको छ। दुवै संगठनका सदस्यहरूले ६ जना अस्थायी कर्मचारीको अनैतिक नियुक्ति रद्द गरिनुपर्ने माग गर्दै आज उत्तरबंग विश्वविद्यालयको प्रशासनिक भवनमा विक्षोभ प्रदर्शन गरे। दुवै संगठनका सदस्यहरूको आरोप अनुसार उत्तरबंग विश्वविद्यालयमा ५०० जना कन्ट्र्याक्चुअल अस्थायी कर्मचारीहरू छन्। तिनीहरूलाई स्थायीकरण नगरिकन नयाँ कर्मचारी नियुक्त गरिएको छ। गत केही दिन अघि बाङ्ग्ला तृणमूल शिक्षा बन्धु समितिले नियुक्तिको विरोध जनाउँदै विश्वविद्यालयका भारप्राप्त रेजिस्ट्रार डा. नुपूर दासलाई ज्ञापन पत्र चढाए तापनि हालसम्म कुनै पहल नगरेको संगठनका सदस्यहरूको आरोप रहेको छ। कन्ट्र्याक्चुअलको आधारमा अस्थायी कर्मचारीहरू नियुक्ति रद्द नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने दुवै संगठनका सदस्यहरूले चेताउनी दिएका छन्।