कोलकाता: पश्चिम बंगालको पञ्चायत चुनाव माथि हिंसाको बादल मड़ारिन छोड़ेको छैन। चुनाव को मिति घोषणा भएदेखि यता फेरि एकजना नेताको हत्या गरिएको छ। ताजा हिंसामा गए बिहीबार राति मुशिर्दाबाद जिल्लाका ४२ वर्षीय अञ्चल अध्यक्ष मुज्जमल हकलाई गोली ठोकी मारिएको छ। यो घटना नवग्राम थानाअन्तर्गत पञ्चग्राम क्षेत्रमा भएको हो।
अज्ञात आक्रमणकारीहरूले उनीमाथि दुईवटा गोली ठोकेका छन्। रगताम्मे अवस्थामा उनलाई नवग्राम अस्पताल पुऱ्याइयो, जहाँ चिकित्सकहरूले मृत घोषित गरे। सोही राति यसै क्षेत्रका कांग्रेस उम्मेद्वार रमजान शेखका पिता महरूल्ला शेखलाई पनि गोली ठोकिएको छ। उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ।
तृणमूल कांग्रेस नेताको हत्या गरेको आरोप कांग्रेस कार्यकर्ताहरूमाथि लगाइएको छ भने यात कांग्रेसले फायरिङको लागि तृणमूल कांग्रेसमाथि आरोप लगाएको छ। क्षेत्रमा शुक्रबार बिहानदेखि नै ठूलो संख्यामा पुलिस जवानहरूलाई तैनाथ गरिएको छ। भनिन्छ, बिहीबार नामांकन-पत्र दर्ता गराएपछि तृणमूलका अञ्चल अध्यक्ष मुजम्मल चुनाव प्रचार गर्न गएका थिए। यसबीच केही मानिसहरूले उनलाई घेरेर कुटपिट गरे। विरोध गर्दा गोली ठोकेको समचार छ।
स्थानीय तृणमूल कांग्रेसका विधायक कन्हाईचन्द्र मण्डलले आरोप लगाएअनुसार कांग्रेसका मानिसहरूले पार्टी नेताको हत्या गरेका छन्। उनले घटनाको विरोधस्वरूप १२ घण्टा बन्दको आह्वान गरेका छन्। कांग्रेस प्रवक्ता जयन्त दासले भने, ‘तृणमूल कांग्रेस भयको वातावरण सृजना गरेर चुनाव जित्न चाहन्छ। कांग्रेस कार्यकर्ताहरूले आफ्नो ज्यान दिएर पनि लोकतन्त्रको रक्षा गर्नेछन्l’ आज प्रदेश कांग्रेस अध्यक्ष अधीर रंजन चौधरी पनि घटनास्थलमा आइपुगे। -हिस