ऐतिहासिक सफलताः मध्य प्रदेश पहिलोपल्ट रणजी ट्रफी च्याम्पियन, मुम्बई धराशयी

२६ जूनः मध्य प्रदेशले आइतवार पाँचौं तथा अन्तिम दिन घरेलु क्रिकेटको बादशाह मानिने टीम मुम्बईलाई एकतर्फी फाइनलमा ६ विकेटले पराजित गरी पहिलोपल्ट रणजी ट्रफी खिताब जितेर इतिहास रच्यो। मध्य प्रदेशको प्रशिक्षक चन्द्रकान्त पण्डितले यसै मैदानमा २३ साल अघि पहिलो रणजी ट्रफीको खिताबी म्याच गुमाएका थिए तर यसपाली उनी च्याम्पियन टीमको हिस्सा बन्न सफल रहे। म्याचको अन्तिम दिन मुम्बईको टीम आफ्नो दोस्रो ईनिंग्समा २६९ रनमा समाप्त हुँदा मध्य प्रदेशलाई जीतको निम्ति १०८ रन बनाउने लक्ष्य प्राप्त भयो, जसलाई उनीहरूले चार विकेट गुमाएर हासिल गरे। सत्रमा १००० रन पूरा गर्नदेखि केवल १८ रन पछि रहने सरफराज खान (४५) र युवा सुवेद पार्कर (५१)-ले मुम्बईलाई हारबाट बचाउने प्रयास गरे तर कुमार कार्तिकेय (९८ रनमा ४ विकेट)-को अगुवाईमा बलरहरूले मध्य प्रदेशको जीत सुनिश्ति गरे। प्रशिक्षकको रूपमा पण्डितको यो रेकर्ड छैटौं राष्ट्रिय खिताब हो। लक्ष्यलाई पीछा गर्दै मध्य प्रदेशले हिमांशु मन्त्री (३७), शुभमन शर्मा (३०) र रजत पाटीदार (अविजित ३०)-को असल ब्याटिंगको दममा २९.५ ओभरमा ४ विकेटमा १०८ रन बनाएर ऐतिहासिक जीत हासिल गऱ्यो।

म्याचमा मुम्बईले आफ्नो पहिलो ईनिंग्समा ३७४ रन बनाएको थियो। त्यसपछि मध्य प्रदेशले तीनजना ब्याटर ( यश दुबे १३३, शुभम शर्मा ११६, रजत पाटीदार १२२)-को शतकको सहायताले आफ्नो पहिलो ईनिंग्समा ५३६ रनको विशाल स्कोर बनाएको थियो। त्यसपछि मुम्बईको दोस्रो ईनिंग्स २६९ रनमा समाप्त हुँदा मध्य प्रदेशलाई १०८ रनको लक्ष्य प्राप्त भयो। शुभम शर्मालाई प्लेयर अव् द म्याच र सरफराज खानलाई प्लेयर अव् द टुर्नामेण्ट चयन गरियो। उल्लेखनीय छ, रणजी ट्रफी भारतको सबैभन्दा प्रतिष्ठित प्रथम श्रेणीको टुर्नामेण्ट हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement