गान्तोक: जिल्ला अस्पताल नाम्चीमा आजदेखि तीव्र झाड़ा-पखाला नियन्त्रणबारे १५ दिने आईडीसीएफ अभियान शुरु भएको छ। पखालाका कारण हुने बालक-बालिकाको मृत्युलाई न्यूनीकरण गर्ने र उन्मूलन गर्ने उद्देश्यले आजदेखि २९ जूनसम्म आईडीसीएफ अभियान शुरु गरिएको हो। यस अवसरमा आज जिल्ला अध्यक्ष अञ्जिता राजालिम मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन्। उनीसँगै नाम्ची जिल्लाका प्रमुख चिकित्सक अधिकारी डा. डीसी शर्मा, जिल्ला चिकित्सा अधीक्षक डा. एस.एन. अधिकारी, शिक्षा विभागीय संयुक्त निदेशक जीपी शर्मा, सीडीपीओ लक्ष्मण तामाङ, लगायत अन्य अधिकारीहरूसँगै स्वास्थ्यकर्मी, आशाकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उचित उपाय अपनाएर अनि औषधि उपचारको माध्यमबाट बाँच्न सकिने झाड़ा-पखालाबारे जानकारी प्रवाह गरिएको थियो। कार्यक्रम अवधि आशाकर्मीहरूले ओरल रिहाइड्रेशन सलुशन अर्थात् ओ. आर. एस. तयारीबारे प्रदर्शनी गरे। योसँगै उनीहरूले ८ हजार ५०० ओ.आर.एस प्याकेट यो अभियानभरि वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले हात धुनुको महत्वबारे प्रकाश पार्दै राम्रो सर-सफाई व्यवस्थापनबारे जोर दिँदै सुमानक हात धुने प्रक्रियामार्फत कसरी हात धुनुपर्ने भन्नेबारे प्रदर्शनी गरेर देखाए।