गान्तोकः राज्य सरकारले सरकारी नौकरीमा कार्यरत भिन्नै रूपमा सक्षम व्यक्तिहरूलाई ५ वर्षमा स्थायीकरण गर्ने नोटिफिकेसन जारी गरेकोमा पर्सन विथ डिसाविलिटिज कम्युनिटिज अफ् सिक्किम (पीडीसीएस) ले राज्य सरकारलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेको छ। गत ८ जूनको दिन राज्य सरकारले एक नोटिफिकेसन जारी गर्दै भिन्नै रूपमा सक्षम कर्मचारीहरूलाई 8 वर्षको सट्टा पाँच वर्षमा स्थायीकरण गर्ने घोषणा गरेको छ। यसरी भिन्नै रूपमा सक्षम कर्मचारीहरूको निम्ति सरकारले सकारात्मक सोंच बनाएर कार्य गरेकोमा उनीहरूले खुशी प्रकट गरेका छन्।
आज तादोङस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष सोनाम डिकी भोटियाले राज्य सरकारले सबै भिन्नै रूपमा सक्षम कर्मचारीहरूलाई पाँच वर्षपछि स्थायीकरण गर्ने नोटिफिकेसन जारी गरेकोमा सबैलाई बधाई साथै शुभकामना दिएकी छन्। यस विषयलाई लिएर विशेष गरेर संघले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई गत वर्ष आवेदन चढाएको जानकारी गराइन्। त्यसबेला मुख्यमन्त्री तामाङले भिन्नै रूपमा सक्षम व्यक्तिरूलाई न्याय दिने वचन दिएको र अहिले त्यो वचन पूरा गरिदिएकोमा खुशी प्रकट गरिन्।
यसै क्रममा संस्थाका महासचिव शियान लेप्चाले संस्थाले अहिलेसम्म गर्दै आइरहेको विभिन्न गतिविधिबारे प्रकाश पारे। कोभिडको संक्रमणकालमा पनि संस्थाले विभिन्न प्रकारले राज्य सरकारलाई सहयोग पुऱ्याएको अवगत गराए। यस संस्थाले सदस्यहरूको हक र अधिकारबारे विभिन्न ठाउँमा सचेतना कार्यक्रम आयोजना गरेको पनि उनले दावी गरे। आगामी दिनमा संस्थाका सदस्यहरूलाई लिएर ओपन स्पोर्टस आयोजना गर्ने योजना रहेको जानकारी गराए। उक्त कार्यक्रममा मुख्यमन्त्री लगायत अन्यहरूलाई अभिनन्दन जनाउने बताए। सोही प्रकारले दक्षिण जिल्लाका संयोजक शिवम कुमार छेत्रीले संस्थाले सोचेको भन्दा धेरै कार्य गरिदिएकोमा उनले मुख्यमन्त्री तामाङलाई धन्यवाद दिए। राज्यका भिन्नै रूपमा सक्षम मानिसहरूले न्याय पाएको उनले महसुस गर्दै खुशी प्रकट गरेका छन्।