खरसाङ: सीपीआईएमले पहाड़मा कुनै गठबन्धनबिना नै आफ्नै बलबुँदामा पञ्चायत चुनाव लड्ने घोषणा गरेको छ। त्यसैे अनुरुप सीपीआईएमले पहाड़का विभिन्न स्थानहरूमा आफ्नो प्रार्थीहरू उठाएका छन्। सीपीआईएमले पहाड़को विभिन्न स्थानहरूमा जम्मा १५ वटा सिटहरूमा पञ्चायत सदस्यको लागि र ३ वटा पञ्चायत समितिको सिटहरूमा प्रार्थीहरू दिएको जानकारी प्राप्त भएको छ। सीपीआईएमले पञ्चायत चुनावको लागि पञ्चायत समितिमा बिजनबारीमा दुईवटा सिटहरू र खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत तीनमा एकजना गरेर जम्मा तीनजना प्रार्थी उठाएका छन्। त्यसरी नै सीपीआईएमले पञ्चायत सदस्यको लागि खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरू घैयाबारी एक, घैयाबारी तीन, सिमलबारी, पाण्डु ग्राम पञ्चायत अनि मिरिक खण्डको थर्बु, निरपानियाँ, बेलगाँची, चेंगा क्षेत्रमा ७ जना साथै सुखे पोखरी खण्ड अन्तर्गत सोनादा क्षेत्रका सिडर्स, रंगमुक, मुण्डा क्षेत्रमा ४ जना प्रार्थीहरू उठाएको सीपीआईएमको सचिव मण्डलीय सदस्य सचिन खातीले बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै भने, पहाड़मा ग्राम पञ्चायत चुनाव कसैसित पनि गठबन्धन नगरी आफ्नै बलबुँदामा लड्ने बताउँदै हामीले बिजनबारी,मिरिक खण्ड हुँदै आज खरसाङमा सीपीआईएमले प्रार्थीको लागि नामांकन पत्र बुझाएको जानकारी गराएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएमले पहाड़मा हुने ग्राम पञ्चायत चुनावमा कुनै पनि गठबन्धनमा रहेर चुनाव नलड्ने बरू आफ्नो पार्टीको पकड़ राम्रो भएको स्थानतिर प्रार्थी उठाएको र राम्रो नभएको क्षेत्रतिर प्रार्थी नदिएको जनाएका छन्। सचिन खातीले शासक दलहरू विशेष गरी राज्यको सत्तामा रहेको तृणमूल र केन्द्रमा रहेको भाजपासित गठबन्धन नगर्ने तर आफ्नै बलबुँदामा पञ्चायत चुनाव लड्ने बताएका छन्। उनले अघि भने, हामी गठबन्धनमा छैनौं कारण पहाड़मा हुने गठबन्धनमा तृणमूल कि भाजपा हुन्छ नै। हामी शासक दलसित गठबन्धन गर्दैनौं।’
सचिन खातीले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, ‘प्रत्येक चुनाव हाम्रो लागि महत्वपूर्ण हुन्छ। हरेक चुनावमा हामी चुनावी मुद्दा लिएर नै चुनाव लड्छौं। चुनावमा मात्र होइन तर हामी सदैव जमीनको अधिकारको लागि आवाज उठाइरहेका छौं। हामी जहिले पनि कृषकहरू र श्रमिकहरूका मुद्दा लिएर कार्य गरिरहेका छौं। विशेष गरेर श्रमिकहरूका निम्नत्तम रोजगार अधिनियमको लागि आवाज उठाईरहेका छौं।’