लिम्बु/सुब्बा विकास समितिको अलिपुरद्वार जिल्ला कमिटी गठन

कालचिनी। लिम्बु/सुब्बा जातिको माउ संगठन लिम्बु/सुब्बा विकास समितिको आज हेमिल्टनगञ्जमा अलिपुरद्वार जिल्ला स्तरीय सम्मेलन सम्पन्न गरिएको जानकारी सो संस्थाको नवनिर्वाचित अलिपुरद्वार जिल्ला सचिव महिपाल सुब्बाले दिएका छन्। आज सो सम्मेलनमा प्रमुख अतिथिको रुपमा लिम्बु/सुब्बा विकास समितिको केन्द्रिय अध्यक्ष जेठा सुब्बा रहेको थियो भने कार्यक्रमको अध्यक्षता डा. लक्ष्मण लिम्बुले गरेका थिए। अन्यान्य विशिष्ट अतिथिहरूमा खड़कासिंह सुब्बा, मोहन आङदेम्बे, विनोद सुब्बा, पदमबहादुर सुब्बा, अमीर सुब्बा, एचबी इदिङगो, गोपाल सुब्बा लगायत अन्यान्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा आरम्भ गर्न अघि पद्मश्री बीबी मुरिङलाको स्मृतिमा शोकसभा पालन गरिए पश्चात सम्मेलन मञ्चलाई स्व.बीबी मुरिङला स्मृति मञ्चको नामकरण गर्दै कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रममा दीप प्रज्वलन पश्चात स्वागत गीत मेचपाड़ा लिम्बु/सुब्बा सांस्कृतिक परिवारका कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन लिम्बु/सुब्बा विकास समितिको नवनिर्वाचित अलिपुरद्वार जिल्ला सभापति आसबहादुर लिम्बुले गरेका थिए भने स्व. बीबी मुरिङलाको संक्षिप्त जीवनी प्रस्तुत पनि गरेको थियो। कार्यक्रममा उपस्थित मुख्य अतिथि लिम्बु/सुब्बा विकास समितिको केन्द्रिय अध्यक्ष जेठा सुब्बा लगायत अन्यान्य अतिथिहरूले आ-आफ्नो सम्भाषण राखेको थियो। कार्यक्रममा लिम्बु कलाकार तुलसीराज सुब्बा र सबनम सुब्बाले लिम्बु गीत प्रस्तुत गरेको थियो। सम्मेलनले लिम्बु/सुब्बा विकास समितिको ब्यानरमा लिम्बु जातिको भाषा, साहित्य र संस्कृति औ परम्परा संरक्षणको दिशामा काम गर्न संगठन विस्तार गर्ने उद्देश्यले अन्ततः लिम्बु/सुब्बा विकास समितिको अलिपुरद्वार जिल्ला कमिटीको गठन गर्ने निर्णयमाथि चर्चा गरिएपछि समितिको अलिपुरद्वार जिल्ला कमिटी गठन गरिएको थियो। सो कमिटीमा अलिपुरद्वार जिल्ला सभापतिको पदमा सर्वसम्मतिले वरिष्ठ लिम्बु समाजसेवी तथा नेपाली साहित्यिक व्यक्तित्व आसबहादुर लिम्बुलाई चयनित गरेपछि सचिव पदमा समाजसेवी महिपाल सुब्बालाई चयन गर्दै सहसचिवमा अर्जुन सुब्बा दलसिंहपाड़ा र जीत लिवाङ पानबारी औ संयुक्त सचिवमा डा. लक्ष्मण सुब्बा बीरपाड़ालाई चयन गर्दै कोषाध्याक्षमा पदमबहादुर सुब्बा र अडिटर निरीक्षणमा गोपाल सुब्बा मेचपाड़ा ८ नम्बरलाई चयन गरिएको केन्द्रिय अध्यक्ष जेठा सुब्बाले जनाएका छन्। कमिटीको सल्लाहकार समितिमा १२ जना औ कार्यकारिणी सदस्यहरूमा १३ जनाको नाम घोषित भएको लिम्बु/सुब्बा विकास समितिको अलिपुरद्वार जिल्ला कमिटीको नवनिर्वाचित मूलसचिव महिपाल सुब्बाले जनाएका छन्।

About Author

Advertisement