सिटिजन एक्सन पार्टीले निष्कासित कर्मचारी पुनर्बहाली माग गर्दै भेट्यो डीओपी सचिव

si-3

गान्तोकः विभिन्न स्थानमा कार्यरत ओएफओजे कर्मचारी बर्खास्त गरेको सम्बन्धमा सिटिजन एक्सन पार्टीको एउटा प्रतिनिधि टोलीले बिहिवार डीओपी सचिवसँग भेट गरी आफ्नो पार्टीको असन्तुष्टि दर्ता गरेको छ। पार्टी संयोजक गणेश राईको नेतृत्वमा १० दिनअघि सिटिजन एक्सन पार्टीले डीओपी विभागलाई निष्कासित ओएफओजे कर्मचारी पुनर्बहाल गर्न दश दिनको अल्टिमेटम दिएको थियो। विभागलाई दिएको अल्टिमेटम आज बिहिवार पूरा भएपछि सिटिजन एक्सन पार्टीको एउटा प्रतिनिधि टोलीले डीओपी सचिवसँग भेट गरेर आफ्नो अडान र असन्तुष्टि दर्ता गराएको छ। यसै मागलाई लिएर पार्टीले भोली शुक्रवार गान्तोक जिल्लापाल कार्यालय परिसरमा धरना गर्ने पनि बताएको छ। अर्कोतर्फ कर्मचारी पुनर्बहालीको मागलाई लिएर डीओपी सचिवको कार्यालयमा पुगेका सिटिजन एक्सन पार्टीको प्रतिनिधि टोलीले कार्यालयमा अनुशासन उल्लङ्घन गरेको आरोप लागेको छ।

पार्टी प्रतिनिधि टोलीको सचिवसँग भएको वहसलाई सचिवको अनुमति नलिइ लाइभ प्रसारण गरेको भन्दै डीओपी सचिवले आपत्ति जनाएका छन्। आफ्नो कार्यालयमा बिना अनुमति भिडियो लाइभ गरेको विषयमाथि सचिवले आपत्ति जनाएपछि सिटिजन एक्सन पार्टीले लाइभ भिडियो बन्द गर्नु परेको थियो। डीओपी सचिवसँगको बैठकबाट सन्तोषजनक जवाफ नपाएको भन्दै सिटिजन एक्सन पार्टीले बर्खास्त कर्मचारी पुनर्बहाली मागलाई निरन्तरता दिने जनाएको छ। सिटिजन एक्सन पार्टीका प्रवक्ता अल्बर्ट गुरुङले जानकारी दिएअनुसार पार्टीले पछिल्लो ५ जूनका दिन डीओपीमा पुगेर ओएफओजे कर्मचारीहरूको निष्कासनबारे आपतित जनाउँदै अल्टिमेटम दिएको थियो।

५ जूनका दिन पार्टीले डीओपी सचिवको अनुपस्थितिमा अतिरिक्त सचिवलाई निष्कासित कर्मचारी पुनर्बहाल गर्नुपर्ने माग गर्दै १० दिनको अल्टिमेटन दिएको थियो जुन आज पूरा भएको र त्यसकै फलोअपका लागि पार्टीले आज सचिवसँग भेट गरेको बताए। तथापी सचिवसँगको बैठक पछि सचिवले आज फेरि १० दिनको समय मागेको प्रवक्ता गुरुङले जानकारी दिए। ओएफओजे कर्मचारी निष्कासित गरेर सरकारले गरीब परिवारका कर्मचारीलाई अन्याय गरेको बताउँदै पार्टीको आन्दोलनलाई निरन्तरता दिने बताए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement