यूएफा नेशन्स लीगः नीदरल्याण्ड्स विरुद्ध रोमाञ्चक जीतको साथ क्रोएशिया फाइनलमा

IMG-20230615-WA0128.jpg

१५ जूनः रोमाञ्चक सेमिफाइनलमा जीत हासिल गरी क्रोएशियाले यूएफा नेशन्स लीग फूटबल टुर्नामेण्टको फाइनलमा स्थान बनायो। बुधवार अबेर राति खेलिएको म्याचमा क्रोएशियाले आयोजक नीदरल्याण्ड्सलाई ४-२-ले पराजित गऱ्यो। अतिरिक्त समयसम्म चलेको यस रोमाञ्चक लड़ाइँमा ३७ वर्षीय अनुभवी फूटबलर लूका मोड्रिचले ११६औं मिनटमा पेनल्टीबाट गोल गरी क्रोएशियाको जीत सुनिश्चित गरे। म्याचमा ४५ प्रतिशत पोजेशनको साथ खेल्ने डच टीमले शुरुमै बढ़त हासिल गरे पनि म्याचमा एक समय क्रोएशिया जीतको संघारमा रहेको थियो तर सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिने नोआ लांगले स्टपेज टाइमको छैटौं मिनटमा गोल गरी नीदरल्याण्ड्सलाई २-२-को बराबरीमा पुऱ्याए। यसअघि डोनयेल मालेनले ३४औं मिनटमा नीदरल्याण्ड्सलाई म्याचको पहिलो गोल दिलाए। त्यसपछि आन्द्रे क्रामारिचले ५५औं मिनटमा पेनल्टीबाट गोल गरी क्रोएशियालाई बराबरीमा पुऱ्याए। त्यसको लगत्तै पछि मारिओ पासालिचले ७२औं मिनटमा अझ एक गोल गर्दा क्रोएशियाले २-१-को बढ़त हासिल गरेको थियो। यसरी नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहँदा अतिरिक्त समयको खेल शुरु भयो। त्यसमा ब्रूनो पेटकोविचले ९८औं मिनटमा दर्शनीय गोलको साथ क्रोएशियालाई बढ़त दिलाए। अन्तमा लुका मोड्रिचले पेनल्टीबाट गोल गरी क्रोएशियालाई फाइनलमा पुऱ्याए। क्रोएशिया यसअघि २०१८-को विश्व कपमा उपविजेता अनि गत वर्ष कतरमा भएको विश्व कपमा तेस्रो स्थानमा रहेको थियो। राष्ट्रिय टीमको जर्सी लगाएर आफ्नो १६५औं म्याच खेल्न ओर्लिने दिग्गज खेलाड़ी मोड्रिचले हजारौंको संख्यामा स्टेडियममा उपस्थित समर्थकहरू प्रति कृतज्ञता व्यक्त गरे। उनले भने, स्टेडियममा यति धेर संख्यामा क्रोएशियाई प्रशंसकहरू देखेर अचम्भ लाग्यो। यो साँच्चै अभूतपूर्व अनुभव थियो। उनीहरूले हामीलाई लगातार समर्थन गरे अनि यसले हामीलाई अतिरिक्त ऊर्जा प्रदान गऱ्यो। टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा स्पेन र इटलीबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement