इस्लामावाद: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या गर्ने षड्यन्त्रको हल्ला चलिरहेको बेला एक कर्मचारी इस्लामावादको बेनिगाला क्षेत्रमा रहेको उनको घरको सुत्ने कोठामा इन्टेलिजेन्स क्यामेरा जडान गरिरहेको अवस्थामा समातिएका छन्। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार यी कर्मचारीलाई इमरान र बुशराको सुत्ने कोठामा जासूसी क्यामेरा जडान गर्न पैसा दिइएको थियो। जब अर्का कर्मचारीले उनलाई क्यामेरा लगाएको देखे, उनले यसको जानकारी इमरान खानलाई दिए। त्यसपछि पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका सिपाहीले उनलाई समाते। सुरक्षाकर्मीले उनलाई संघीय पुलिसलाई सुपुर्द गरेका छन्।
यो घटना यस्तो समयमा आएको हो जब पूर्वप्रधानमन्त्री इमरान खानको हत्याको षड्यन्त्र भएको आरोप लागेको छ। यो कथित खतरालाई मध्यनजर गर्दै यसअघि बेनिगाला वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो। इमरान खानको पार्टी पीटीआईका धेरैले आफ्नो नेताको ज्यान खतरामा परेकोमा शंका गरिरहेका छन्। इमरान खानको पार्टी पीटीआईका नेता शाहबाज गिलले भने, ‘हामीले क्यामेरा जडान गर्ने प्रयासको बारेमा सबै सुरक्षा एजेन्सीहरूलाई जानकारी गराएका छौंl’ उनले यो षड्यन्त्रमा शाहबाज सरकार पनि संलग्न रहेको आरोप लगाए। गिलले एक अन्तर्वार्तामा इमरान खानको घर सफा गर्ने कामदारलाई जासुसी क्यामेरा जडान गर्न पैसा दिएको दाबी गरेका थिए। यो अत्यन्तै घृणित र दुर्भाग्यपूर्ण छ। यस्तो लाजमर्दो घटनाबाट जोगिनै पर्छ। पक्रा परेका कर्मचारीले धेरै खुलासा गरेको गिलले भने, तर उनले ती कुराहरू तत्काल खुलाउन अस्वीकार गरे। अर्कोतर्फ पाकिस्तानका गृह मन्त्री राणा सनाउल्लाहले इमरान खानको ज्यानलाई कुनै खतरा नरहेको बताएका छन्। उनले प्रधानमन्त्री हुँदा जे सुरक्षा पाएका थिए, त्यही सुरक्षा उपलब्ध गराइएको छ। यसअघि इमरान खानका भतिजा हसन नियाजीले पूर्व प्रधानमन्त्रीलाई केही भयो भने त्यसलाई पाकिस्तानमाथि आक्रमण मानिने बताए। यसको आक्रामक जवाफ दिइनेछ।










